Logo २१ चैत्र २०८२, शनिबार | Sun Apr 5 2026


सरस्वती राष्ट्रिय कीर्तिमान तोड्न असफल


0
Shares

जकार्ता, भदौ १४ । इन्डोनेसियामा जारी एसियाली खेलकुद (एसियाड)को एथ्लेटिक्सतर्फ नेपालकी सरस्वती भट्टराईले राष्ट्रिय कीर्तिमान तोड्न सकिनन् ।

जकार्तास्थित गेलोरा बुङ कार्नो रंगशालामा बिहीबार साँझ भएको महिला १५ सय मिटर दौड सरस्वतीले ४ मिनेट ३४.२६ सेकेन्डमा पूरा गरिन् । यो स्पर्धाको राष्ट्रिय कीर्तिमान सरस्वतीकै नाममा थियो ।

सरस्वतीले सन् २०१६ को रियो ओलम्पिकमा ४ मिनेट ३३.९४ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

१९ खेलाडी सहभागी एसियाडको दौडमा सरस्वती १४औं भइन् ।

यो स्पर्धामा बहराइनका काल्किदान बेफ्कादु र टिगिष्ट बेलेले क्रमशः स्वर्ण र रजतपदक जित्दा भारतकी चित्रा उनिक्रिस्नन्ले कास्यपदक हात पारिन् ।

सरस्वतीको यो दौडसँगै एथ्लेटिक्सतर्फ नेपालका सबै खेलाडीहरुको प्रतिस्पर्धा सकिएको छ ।

नेपालका सोमबहादुर कुमालले पुरुष ८०० मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाउँदा अरु कसैले पनि नयाँ कीर्तिमान राख्न सकेनन् ।