Logo २१ चैत्र २०८२, शनिबार | Sun Apr 5 2026


नेपालको लगातार दोस्रो हार, युएईसँग ७८ रनले पराजित


0
Shares

काठमाडौं, भदौ १४ । एसिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत् बिहीबार भएको आफ्नो दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग ७८ रनले पराजित भएको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले नेपाललाई २५५ रनको लक्ष्य दिएको थियो ।

जवाफमा नेपाल ४८.५ ओभरमा सबै विकेट गुमाउँदै १७६ रनमा समेटियो ।

यो नेपालको लगातार दोस्रो हार हो । यसअघि, बुधबार भएको पहिलो खेलमा नेपाल ओमनसँग सात विकेटले पराजित भएको थियो ।

हारसँगै नेपालको एसिया कप क्रिकेट खेल्ने सपना अधूरो नै रह्यो ।

बिहीबारको खेलमा नेपालका लागि सुवास खकुरेलले सर्वाधिक ५० रन जोडे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई अर्धशतक दिलाउने उनी चौथो खेलाडी बने ।

यसअघि, नेदरल्यान्ड्सविरुद्धको खेलमा ज्ञानेन्द्र मल्ल, पारस खड्का र सोमपाल कामीले अर्धशतक पूरा गरेका थिए ।

खकुरेलले ९७ बल खेल्दै एक छक्का र दुई चौकाको मद्दतमा अर्धशतक पूरा गरे । दीपेन्द्रसिह ऐरीले ४० रन जोडे । सोमपाल कामीले २७, कप्तान पारस खड्काले १६ तथा बसन्त रेग्मीले १२ रन जोड्नुबाहेक अरुले दोहोरो अंक जोड्न सकेनन् ।

सुरुआती ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल ४, रोहितकुमार पौडेल ९ तथा सागर पुन ३ रनमा आउट भए ।

त्यसअघि, पहिले ब्याटिङ गरेको युएईले निर्धारित् ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन बनाएको थियो ।

युएईका लागि ओपनर चिराग सुरीले सात चौका र एक छक्कासहित ६५ रन जोडे । अर्का ओपनर असफाद अहमदले ४५, रमिज साहजादले ३५, अद्नान मुफ्तीले ४१ रनको योगदान दिए ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । सन्दीपले १० ओभरमा दुई मेडनसहित २४ रन खर्चेका थिए । वसन्त रेग्मी र सोमापाल कामीले समान २/२ विकेट लिए ।

सन्दीप नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त खेलमा सर्वाधिक विकेट लिने खेलाडीसमेत बने । उनको विकेट संख्या अब ८ पुगेको छ । यसअघि, नेदरल्यान्ड्सविरुद्धको पहिलो सिरिजको दुई खेलमा सन्दीपले ४ विकेट लिएका थिए ।

युएई र नेपाल दुवै अन्तर्राष्ट्रिय एक दिवसीय मान्यताप्राप्त देश हुन् । रासस