काठमाडौं, भदौ ८ । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलोपटक शुक्रबार ‘जीपीएस ट्रयाकर’ प्रणाली प्रयोग गरेर अभ्यास सुरु गरेको छ ।
यही भदौ १९ गतेदेखि बंगलादेशमा हुने साफ च्याम्पियनसिप प्रतियोगितालाई ध्यानमा राखेर ‘जीपीएस ट्रयाकर’ प्रयोग गरेर प्रशिक्षण गरिएको हो ।
अन्यत्र धेरैअगाडिबाट यसको प्रयोग गरिएपनि नेपाली फुटबलमा यो पहिलोपटक प्रयोग गरिएको हो ।
यो प्रविधिले साफकोमात्र नभइ नेपाली फुटबलको विकासमा सघाउ पुग्ने नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बताए ।
यो प्रविधिको प्रयोगले खेलाडीको सम्पूर्ण अभिलेख राख्छ । अभ्यासमा खेलाडीको प्रतिक्रिया, गति र सीपबारे जानकारी दिन्छ ।
थाइल्यान्डमा १० दिने प्रशिक्षण र एसियन गेम्सबाट फर्किएपछि नेपाली टोलीले बिहीबारदेखि अभ्यास सुरु गरेको छ ।
साफका लागि २९ खेलाडी बन्द प्रशिक्षणमा छन् ।
साफ च्याम्पियनसिपको समूह ‘ए’मा रहेको नेपालले यही भदौ १९ गते पाकिस्तानविरुद्ध खेलेर साफको सुरुआत गर्नेछ ।
नेपालले दोस्रो खेलमा भुटानसँग भदौ २१ र बंगलादेशसँग २३ मा खेल्नेछ ।
समूह ‘बी’मा भारत, श्रीलंका र माल्दिभ्स छन् । रासस


















प्रतिक्रिया दिनुहोस्