Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


विश्वकप हेर्नका लागि दर्शकसँग अतिरिक्त शुल्क नलिन सर्वोच्चकाे अल्पकालिन आदेश


2k
Shares

काठमाडाैं । सर्वाेच्च अदालतले विश्वकप हेर्नका लागि दर्शकसँग अतिरिक्त शुल्क नलिन अल्पकालिन अन्तरिम आदेश जारी गरेकाे छ ।

मंगलबार बसेको न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सो सम्बन्धी रिटको सुनुवाई गर्दै थप पाँच सय रुपैयाँ शुल्क उठाउने निर्णय कार्यान्वयन नगर्न/नगराउन अल्पकालिन अन्तरिम आदेश दिएको हो ।

मंसिर ४ गतेबाट सुरु हुने सो विश्वकप फुटबल प्रतियोगिताको नेपालबाट प्रशारण गर्ने अधिकार पाएको मिडिया हब प्रालिले दर्शकसँग थप ५ सय उठाउने निर्णय गरेपछि अधिवक्ताहरु किशोर पौडेल, अनुपम भट्टराईले सो निर्णयमा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट दायर गर्नु भएको थियो ।

नेपालको कुनै पनि कानुनले त्यसरी दर्शकका लागि अरिरिक्त शुल्क लिन पाउने व्यवस्था नगरेकाले त्यसलाई रोक्नका लागि आफूहरुले सर्वोच्च अदालतमा रिट दिएको रसो निर्णय कार्यान्वयन नगर्न, नगराउन अल्पकालिन अन्तरिम आदेश जारी भएको अभिवक्ता किशोर पौडेलले बताउनु भयो ।

रिटमा मिडिया हब प्रालि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, टेलिभिजन सिग्नल सेवा प्रदायक संस्थाहरु एनआईटिभी स्ट्रीम्ज प्रालि, भायोनेट कम्युनिकेशन प्रालि, एडप्याड एक्युजिशन प्रालिलाई विपक्ष बनाइएको थियो । यता मिडिया हबले भने सो अनुमति लिनका लागि करिव ४० करोड बराबरको खर्च भएकाले सो शुल्क लगाउने निर्णय गर्नु परेको बताउँदै आएको छ । सो मुद्दाको फैसलाको टुंगो यही कात्तिक २७ गते लाग्नेछ ।