जकार्ता, भदौ ७ । शीर्ष वरीयताकी नेपाली ब्याडमिन्टन खेलाडी नङ्सलदेवी तामाङ १८औं एसियाली खेलकुद (एसियाड)को महिला एकलतर्फ ‘राउन्ड अफ सिक्सटिन’मा प्रवेश गरेकी छन् ।
इन्डोनेसियाको जकार्तास्थित जिबिके इस्तोरामा बिहीबार भएको खेलमा नङ्सलले माल्दिभ्सकी खेलाडी अब्दुल रजाक फतिमा नाबाहलाई २–० को सोझो सेटमा हराइन् ।
फतिमाविरुद्धको खेल नङ्सलले २१–१९ र २१–१५ ले आफ्नो पक्षमा पारिन् ।
नङ्सलले अब ‘राउन्ड अफ सिक्सटिन’को खेलमा जापानकी अकाने यामागुचीसँग खेल्नेछिन् ।
महिला एकलकै अर्को खेलमा नेपालकी जेसिका गुरुङ पराजित भएकी छन् ।
जेसिकालाई बिहीबार थाइल्यान्डकी रत्चानोक इन्तानोनले २१–७ र २१–४ को सोझो सेटमा हराएकी हुन् ।
पुरुष डबल्समा एक जित
एसियाली खेलकुदको ब्याडमिन्टनतर्फ पुरुष डबल्समा पनि नेपालले एक खेल जितेको छ ।
अन्तिम ३२ चरणको खेलमा नेपालका नवीन श्रेष्ठ र विकास श्रेष्ठको जोडीले बिहीबार मंगोलियाका सुमियासुरेन एन्खबात र तेमुलेन गोम्बोदोर्जको जोडीलाई २–० को सोझो सेटमा हरायो ।
नेपालका श्रेष्ठद्वयले २१–१२ र २१–७ को सोझो सेटमा खेल जितेका हुन् ।
ब्याडमिन्टनकै मिक्स डबल्समा भने नेपालका दुवै टोली पराजित भएका छन् ।
तामाङ दिदीभाइ रत्नजित र नङ्सलदेवीको जोडीलाई बिहीबारै इन्डोनेसियाको डेबी सुसान्तो र रिक्की कारानदासुवार्दीको जोडीले २१–१३ र २१–७ को सोभो सेटमा हराएको हो ।
यही विधाको अर्को खेलमा दीपेश धामी र जेसिका गुरुङको जोडीलाई हङकङका चुन हेइ ली र होइ वाह छाउको जोडीले २१–११, २१–११ को सहज सेटमा पाखा लगाए ।








प्रतिक्रिया दिनुहोस्