Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


प्रधानमन्त्री कप : एपीएफ क्लब सेमिफाइनलमा प्रवेश


299
Shares

काठमाडाैं । विभागीय टोली एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा शनिबार कर्णाली प्रदेशलाई ४४ रनले हराउँदै एपीएफले अन्तिम चारको यात्रा तय गरेको हो ।

एपीएफले दिएको २ सय ३५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले ४८ ओभर १ बलमा अलआउट हुँदै ९० रन मात्र बनाउन सक्यो । कर्णालीका लागि रविन्द्र शाहीले ८० रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन्।

एपीएफका मौसम ढकालले ४ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४७ ओभर २ बलमा अलआउट हुँदै २ सय ३४ रन बनाएको थियो। एपीएफका लागि आसिफ शेखले १ सय ३० रनको शतकीय इनिङ खेले । कर्णालीका दीपेन्द्र रावत र प्रकाश जैसीले ३/३ विकेट लिए । यस जितसँगै एपीएफले समूह ‘ए’ बाट सेमिफाइनलमा स्थान पक्का गरेको हो । कर्णालीको यो लगातार दोस्रो हार हो ।

आजै भएको अर्को खेलमा मधेश प्रदेशल लुम्बिनी प्रदेशमाथि ९२ रनको जित निकालेको छ । मधेश प्रदेशको यो दोस्रो जित हो । मधेशले दिएको २ सय ६० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनीले ४९ ओभर १ बलमा अलआउट हुँदै १ सय ६७ रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि विशाल बिक्रम केसीले ३४ रन जोडे ।

मधेशका लागि राजेश यादव र प्रदिप पासवानले ३÷३ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मधेशले ४८ ओभर ४ बलमा अलआउट हुँदै २ सय ५९ रन बनायो । मधेशका लागि हरिशंकर साह, सन्तोष कार्की र अनिल साहले अर्धशतकीय इनिङ खेले । लुम्बिनीका कृष्ण कार्कीले ३ तथा अनिल खरेलले २ विकेट लिए ।