२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


आत्मानन्द कप मंसिर ९ गतेदेखि हुने


130
Shares

काठमाडौं । आत्मानन्द कपको १५ औं संस्करण फुटबल प्रतियोगिता मंसिर ९ गतेदेखि इलामको माङ्सेबुङमा सञ्चालन हुने भएको छ ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६९औं जन्मोत्सवको अवसरमा मंसिर ९ देखि १७ गतेसम्म प्रतियोगिता सञ्चालन हुने आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए । प्रतियोगितामा पूर्वका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी, तेह्रथुम, ताप्लेजुङ र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहने छ ।

अध्यक्ष आङबुहाङका अनुसार प्रतियोगितामा माङसेबुङ गाउँपालिका खेलकुद समिति इलाम, एचएफसी, सुनसरी, छथर गाउँपालिका तेह्रथुम, कर्णसिंह सोनाम एफसी ताप्लेजुङ, तिजोक युबा क्लब पाँचथर, चारतारे युवा क्लब मोरङ, जलथल एफसी झापा र भारतको दार्जिलिङबाट एमएफसी सहभागी हुने निश्चित भएको छ ।

गत वर्ष आत्मनन्द कप उपाधि माङसेबुङ गाउँपालिकाले जितेको थियो । प्रतियोगिताका विजेताले नगद ३ लाख ११ हजार १ सय ६९ रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ६९ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउने छन् । त्यस्तै, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने छ ।

प्रतियोगिता माङसेबुङ गाउँपालिका वडा नम्बर ५ स्थित आत्मानन्द खेलमैदानमा संचालन हुने छ । जन्मोत्सवको अवसरमा मंसिर १७ गते फुटबलका साथै अन्य विभिन्न किराती खेलहरु समेत सञ्चालन हुनेछन् । म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ छेलो, धनुकाँड, कराँतेलगायतका खेलहरु समेत सञ्चालन हुने छन् । आत्मा पवित्र हक्चात यक्चुमको आयोजनामा धर्मगुरु लिङको जन्मोत्सवको अवसरमा हरेक वर्ष मंसिरमा प्रतियोगिता संचालन हुँदै आएको छ ।

प्रतियोगिताका लागि माङसेबुङ गाउँपालिकाले समेत सहयोग गर्दै आएको छ । २०६५ सालमा धर्मगुरु लिङदेनको ५५ औं जन्मोत्सवको अवसरमा २० हजार ५५ रुपैयाँ पुरस्कार राशीबाट थालनी गरिएको यस आत्मानन्द कपको नगद पुरस्कार राशी यसवर्ष ३ लाख ११ हजार १ सय ६९ रुपैयाँ पुगेको हो ।