Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


धर्मेन्द्रले जावेद अख्तरप्रति पोखे आक्रोस


5.7k
Shares

एजेन्सी । भारतीय अभिनेता धर्मेन्द्र देवलले सामाजिक सञ्जालमार्फत फिल्म ‘जंजीर’ को विषयमा गीतकार र पटकथा लेखक जावेद अख्तरले दिएको अभिव्यक्ति प्रति आक्रोस व्यक्त गरेका छन् ।

पछिल्लो एक अन्तर्वार्तामा जावेदले अमिताभ बच्चनको पहिलो सुपरहिट फिल्म ‘जंजीर’ को बारेमा कुरा गरेका थिए । यसमा उनले भनेका थिए, ‘यो फिल्म अमिताभको अगाडि धर्मेन्द्रलाई अफर गरिएको थियो तर, उनले अस्वीकार गरे ।’

जावेदको यो भनाइ सुनेर धर्मेन्द्र आक्रोशित भए र सामाजिक सञ्जालमार्फत आफ्नो आक्रोस व्यक्त गरेका हुन्। धर्मेन्द्रले आफ्नो पोस्टमा लेखेका छन् ,‘जावेद, तिमी कस्तो छौ देखावटी यो संसारमा वास्ताविक कुरा लुकाइन्छ, सायद चर्को स्वरमा बोल्ने जादु सिकेको भए हुन्थ्यो ।’

जावेदले भारतीय सञ्चार माध्यमसँगको कुराकानीका क्रममा भनेका थिए, ‘जंजीर’ फिल्मका लागि अमिताभ अन्तिम रोजाइ थिए । फिल्मको स्क्रिप्ट धर्मेन्द्रकै लागि लेखिएको थियो । तर, केही कारणले उनले फिल्म गर्न अस्वीकार गरे । प्रकाश मेहरासँग स्क्रिप्ट थियो । तर, नायक भने थिएनन् । यसअघि उनले फिल्म मात्र निर्देशन गरेकाले उनी पहिलो पटक फिल्म निर्माण गर्दै थिए । फिल्मका लागि धेरै स्टारलाई प्रस्ताव गरिएको थियो तर, सबैले अस्वीकार गरेका थिए ।’

जावेदले थप भने, ‘उनले यसमा काम गर्न किन अस्वीकार गरे भन्ने पनि मैले बुझ्न सक्छु । मलाई लाग्छ त्यो समय राजेश खन्नाको थियो । फिल्महरूमा धेरै संगीत र रोमान्स थियो, जुन यस फिल्ममा थिएन । उक्त फिल्ममा अन्तिमसम्म नायक क्रोधित अवतारमा देखिएका छन् । त्यतिबेला यस्तो नायक बन्न कोही चाहँदैनथे ।

फिल्म ‘जंजीर’ ११ मे १९७३ मा रिलिज भएको थियो । यो फिल्मले ४ वर्षको संघर्षपछि अमिताभलाई स्टारडमको उपाधि दिएको थियो ।