
काठमाडौं । झरना थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘भागवत् गीता’ निर्माण नहुँदै विवादमा परेको छ ।
फिल्मको नामलाई लिएर एक हिन्दूवादी संस्थाले चलचित्र विकास बोर्डमा उजुरी हालेको छ । उजुरी पत्रमा अन्तरजातीय प्रेमकथामा श्रीमद् भागवत् गीता जस्तो पवित्र नाममाथि फिल्म निर्माण हुन लाग्नु अनुचित कार्य रहेको भनिएको छ ।
सुनिल कुमार थापाले निर्माण गर्ने ‘भागवत् गीता’ को दशैंको फूलपातीबाट छायांकन सुरु गर्ने तयारी गरिएको थियो ।
तर, फिल्मका लागि मुख्य अभिनेताको टुंगो नलाग्दा छायांकन अनिश्चित बनेको छ । फिल्ममा अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहनेछ । मधेशी समुदायकी युवती र पहाडी समुदायका युवकबीचको प्रेमकथामा फिल्म आधारित हुने बताइएको छ ।
फिल्मको छायांकन सुरु हुन ढिलाई हुने भएपछि झरना र सुहाना एक कार्यक्रममा सहभागी हुन मंगलबार अमेरिका उडेका छन् ।
ग्रान्थको नाममा फिल्म निर्माणको अवस्था आएको खण्डमा धार्मिक क्षेत्रको आधिकारिक संस्थासँग समन्वय गरि कथा विषयवस्तुले धार्मिक क्षेत्र र सामाजिक मूल्य मान्यतामा आघात नहुने गरि मात्र निर्माण र प्रसारणको अनुमति दिन समेत बोर्डसँग हिन्दू जागरण नेपालले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्