Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


एसियाड तेक्वान्दोमा निराशा, थप तीन नेपाली खेलाडी पदकविहीन


0
Shares

जकार्ता, भदौ ५ । इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद (एसियाड)को तेक्वान्दोतर्फ नेपालका थप तीन खेलाडी पदकविहीन भएका छन् ।

महिला ५७ केजीमुनिको तौल समूहमा पदकको आशा गरिएकी खेलाडी ज्ञानी चुनारा मंगलबार क्वाटरफाइनलमा पराजित भइन् ।

चुनारालाई फिलिपिन्सकी पाउलिन लुइजे लोपेजले ‘प्वाइन्ट’ अन्तरको आधारमा हराइन् । लोपेजले २०–० को फराकिलो अन्तर बनाएपछि चुनारा पराजित भएकी हुन् ।

यसअघि, अन्तिम १६ को खेलमा भने चुनाराले भुटानकी किन्जाङ छोदेनलाई २८–६ ले हराएकी थिइन् ।

तेक्वान्दोकै महिला ६७ केजीमाथिको तौल समूहमा ओलम्पियन निशा रावल पराजित भइन् । अन्तिम १६ को खेलमा निशालाई चिनियाँ खेलाडी पान गाओले २२–६ ले हराइन् ।

यसैगरी, मंगलबारै पुरुष ८० केजीमाथि नेपालका अनोज पुजारी काजखस्तानका रुस्लान झापारोभसँग प्वाइन्ट अन्तरको आधारमा २१–० ले पराजित भए ।

तेक्वान्दोमा बुधबार नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

‘साग’का रजतपदकधारी वीरबहादुर महराले ६३ केजीमुनि प्रतिस्पर्धा गर्दा ८० केजीमुनिको तौल समूहमा भूपेन श्रेष्ठले खेल्नेछन् ।

यसैगरी, बिहीबार हुने खेलमा महिलातर्फ ४९ केजीमुनि अस्मिता श्रेष्ठ तथा पुरुष ६८ केजीमुनि ज्ञानेन्द्र हमालले प्रतिस्पर्धा गर्नेछन् ।