Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


अध्यात्मवादले समाजमा विभेद र अपमान गर्छः अध्यक्ष दाहाल


754
Shares

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अध्यात्मवादलाई अन्धविश्वास र अज्ञानताको संज्ञा दिनुभएको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालयमा १० औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले धर्मका नाममा ढुंगा पूज्दै हिंड्न विज्ञानसम्मत नभएको जिकिर गर्नुभयो ।

अध्यक्ष दाहालले आध्यात्मवाद वा परम्परागत जडताले विभेदतिर, अपमानतिर, उच्चनिच बनाएर मानिसहरुलाई फुटाउनेतिर लैजाने बताउनुभयो । उहाँले विज्ञान प्रविधिले समानता, समाजवादतिर, न्यायतिर लैजाने उल्लेख गर्दै विज्ञानको बारेमा देशमा ठूलो बहस चलाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले नेपालमा ३३ कोटी देवता हुन्छन्, जताततै देवतालाई पूजा गर्दै हिंड्नुपर्ने, मान्छेलाई लात हान्दै हिँड्ने, ढुंगालाई पूजा गर्दै हिंड्ने संस्कार रहेको उल्लेख गर्दै नेपाली समाज अझै विज्ञानको क्षेत्रमा पस्न नसकेको बताउनुभयो । उहाँले नाट्यकार बालकृष्ण समले ‘ज्ञान मर्दछ, हाँसेर, रोई विज्ञान मर्दछ’ भन्ने कवितांश सही नभएको जिकिर गर्नुभयो ।

अध्यक्ष दाहालले यस्ता संस्कारले देशको विकास र विज्ञानको विकासमा अवरोध सिर्जना गरेको बताउनुभयो । उहाँले विज्ञानको दुरुपयोग र सदुपयोग दुवै हुने उल्लेख गर्दै विज्ञानको धेरै भन्दा धेरै सदुपयोग गरी देशको विकास गर्न जरुरी रहेको बताउनुभयो । उहाँले सही विचारलाई बोकेर विज्ञानको प्रचारप्रसार र प्रयोग गर्नसके जनताको विकासलाई सहयोग पुग्ने बताउनुभयो ।

अध्यक्ष दाहालले देश विकासका लागि सबैले आफ्नो सोचाइ र हेराईको दृष्टिकोणलाई बदल्न वैज्ञानिक छलफल गर्न आवश्यक रहेको बताउनुभयो ।