१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


नवौं राष्ट्रिय क्रिकेटको सेमिफाइनल समीकरण पूरा


273
Shares

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मीले लगातार तेस्रो जित निकालेको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा बुधबार नेपाल पुलिस क्लबलाई १३ रनले हराउँदै आर्मीले लगातार तेस्रो जित निकालेको हो । वर्षाका कारण १९ ओभरमा छोट्याईएको खेलमा आर्मीले १ सय ७८ रन बनायो । जवाफी ब्याटिङ गरेको पुलिसले १९ ओभरमा ८ विकेट गुमाएर १ सय ६४ रन मात्र बनायो । जितसँगै आर्मीको ५ खेलमा ८ अंक जोडेको छ ।

आर्मी समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । यस समूहबाट ५ खेलमा ६ अंक जोडेको पुलिस उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ । पुलिस कर्णाली प्रदेशसँग समान अंक भए पनि रनरेटमा अघि रहेर सेमिफाइनल पुगेको हो । समूह ‘बी’ बाट भने एनआरएनए स्पोर्टस एकेडेमी तथा सुदुरपश्चिम यस अघि नै सेमिफाइनल पुगिसकेका छन् ।

सेमिफाइनल खेल बिहीबार हुनेछ । अब सेमिफाइनलमा आर्मीले सुदूरपश्चिमसँग खेल्दा पुलिसले एनआरएनएसँग खेल्नेछ । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडि नै आयोजना भईरहेको हो ।