Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


टेनिसतर्फ आइतबार नेपालले सबै खेल गुमायो, सुटिङमा पनि निराशाजनक सुरुआत


0
Shares

जकार्ता, भदौ ३ । इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद प्रतियोगिताको टेनिसतर्फ आइतबार नेपालले खेलेका सबै खेल गुमाएको छ ।

नेपालका शीर्ष वरियताका खेलाडी संरक्षक भूषण बज्राचार्य पुरुष एकलको अन्तिम ६४ को खेलमा आयोजक इन्डोनेसियाका मोहम्मद रिफ्की फित्रियादीसँग ६–२ र ६–२ को सोझो सेटमा पराजित भए ।

यसैगरी, पुरुष एकलकै अर्को खेलमा अभिषेक बास्तोला भियतनामका लिनजियान त्रिन्ह सँग १–६, ६–३ र ६–३ को सेटमा पराजित भए ।

टेनिसकै महिला एकलअन्तर्गत् अन्तिम ६४ को खेलमा माहिका राणा भियतनामकी खेलाडी सिसिला फोदोरसँग ६–० र ६–१ को सोझो सेटमा पराजित भइन् ।

यही स्पर्धाको अर्को खेलमा मायंका राणा हङकङकी अडिस वोङ चोङसँग ६–० र ६–१ को सोझो सेटमा पराजित भइन् ।

मिक्स डबल्सको अन्तिम ३२ मा प्रणब खनाल र माहिकाको जोडी हङकङका पाकलोङ योङ र लिङ झाङको जोडीसँग ६–० र ६–१ को सोझो सेटमा पराजित भए ।

मिक्स डबल्सकै अर्को खेलमा संरक्षक भूषण र एनी माथेमाको जोडी हङकङका अडिस वोङ र चुनहुनवोङको जोडीसँग ६–१ र ६–० को स्कोरमा पराजित भए ।

सुटिङमा पनि निराशाजनक सुरुआत

एसियन गेम्सको सुटिङतर्फ पनि नेपालको सुरुआत निराशाजनक रह्यो ।

१० मिटर एअर राइफलमिक्स टिममा ७७६.४ स्कोरका साथ नेपाल आफ्नो समूहको पुछार २२औं स्थानमा समेटियो ।

नेपालका लागि सुस्मिता नेपालले ४०३.५ र सुसे चौधरीले ३७२.९ स्कोर गरे ।

सुटिङतर्फ सोमबार नेपालका सुसे चौधरी, सुस्मिता नेवा र कल्पना परियालले १० मिटर एअर राइफलको पुरुष र महिला एकल विधामा प्रतिस्पर्धा गर्नेछन् ।