काठमाडौं । १८ औं एशियाली खेलकुद अन्तर्गत आज भएको तेक्वान्दोको दुबै खेलमा नेपाल पराजित भएको छ ।
राउन्ड अफ सिक्सिटिनमा खेलमा नेपालका कमल श्रेष्ठ र पार्वती गुरुङ पराजित भएका छन् । पुरुष एकलतर्फ श्रेष्ठलाई चाइनीज ताइपेइका चेन चिङले पराजित गरेका हुन् ।
यस्तै महिलातर्फ पार्वती गुरुङ चाइनिच ताइपेइका लिओआ वेन्सआनसँग पराजित भइन् । नेपालले तेकान्दोमा पदकको आशा गरेको थियो ।
आजै नेपालले उसुमा पनि प्रतिस्पर्धा गर्दैछ । पुरुष छान छ्वाङमा विजय सिंजालीले प्रतिस्पर्धा गर्नेछन् भने पुरुष सान्डा ६० केजीको अन्तिम १६ मा नेपालका मंगलप्रसाद थारुले इन्डोनेसियाका सोफियान अब्दुल ह्यारिससँग खेल्नेछन् ।
पुरुषकै सान्डा ७० केजी अन्तिम १६ मा नेपालका चित्रसिंह ठकुरीले दक्षिण कोरियाका ह्याम ग्वान्सिकसँग प्रतिस्पर्धा गर्नेछन् ।
महिला सान्डा ५२ केजी अन्तिम १६ मा जुनी राईले भियतनामकी एनजुएन थोएसँग खेल्नेछिन् ।
उसुकै महिला नान छ्वान र नान्दाओमा नेपालकी निमा घर्तीमगरले प्रतिस्पर्धा गर्ने छिन् ।
ब्याडमिन्टनतर्फ नेपालले पुरुष र महिला दुवैको टिम इभेन्ट्समा प्रतिस्पर्धा गर्नेछ ।
सोझै अन्तिम १६ खेल्ने मौका पाउँदा नेपाली पुरुष टोलीले पाकिस्तान तथा महिला टालीले माल्दिभ्सँग प्रतिस्पर्धा गर्नेछन् ।
फेन्सिङको महिला एकल साब्रेमा नेपालकी कमला श्रेष्ठले आजै तीन खेल खेल्नेछिन् ।
समूह ‘सी’ अन्तर्गतको खेलमा श्रेष्ठले हङकङकी आउ सिन यिङ, मंगोलियाकी युनदेनदोर्ज अरुनजाया र जापानकी तामुरा नोरिकासँग प्रतिस्पर्धा गर्नेछिन् ।
यसैगरी महिला एकल साब्रोमै रविना थापाले दक्षिण कोरियाकी युआन जिसु, क्याम्बोडियाकी छाए लिन्ली र इरानकी राफिई देखे फैजेहसँग खेल्नेछिन् ।
फुटबलतर्फ समूह डीको अन्तिम खेलमा नेपालले पाकिस्तानसँग खेल्नेछ ।
त्यस्तै कबड्डीको पुरुषतर्फ आयोजक इन्डोनेसियाको सामना गर्नेछ भने सुटिङको १० मिटर एयर राइफल मिक्स टिममा नेपालले प्रतिस्पर्धा गर्नेछ ।








प्रतिक्रिया दिनुहोस्