सागर महर्जन (इमेज)
काठमाडौं, जेठ १६ । आर्थिक वर्ष २०७७/७८ को बजेटप्रति चलचित्र क्षेत्रले मिश्रित प्रतिक्रिया दिएको छ ।
‘लकडाउन’का कारण ठूलो मारमा परेको यो क्षेत्रले आशा गरेजति मागको सम्बोधन नभएपनि बजेटले चलचित्र क्षेत्रलाई पनि भरथेग गर्न खोजेको बताएका छन् ।
बिहीबार संसदमा प्रस्तुत बजेटमा चलचित्र छायाँकनस्थललाई प्राथमिकता दिने र हरेक प्रदेशमा छायाँकनस्थल निर्माण गर्ने घोषणा गरिएको छ ।
हुन त अघिल्लो वर्ष नै ‘छायाँकनका लागि नेपाल’ कार्यक्रम सुरुआत गर्ने घोषणा गरिएकोमा त्यसको कार्यान्वयन हुन सकेको छैन ।
यस्तै, मौलिक फिल्म निर्माणलाई प्राथमिकता दिने, राष्ट्रियता, राष्ट्रिय एकता, भाषा र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्ने चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने विषय बजेटमा परेको छ ।
साथै, चलचित्र कलाकार संघको भवन निर्माण तथा नेपाली चलचित्रको सुरक्षित भन्डारणका लागि आवश्यक बजेट विनियोजन गरिएको पनि अर्थमन्त्रीले बताएका छन् ।
लकडाउनबाट चलचित्र क्षेत्रमा परेको प्रभावलाई मध्यनजर गर्दै इजाजतपत्र र उपकरणको नवीकरण दस्तुरमा छुट दिने, चालू पुँजीका लागि कर्जा सुविधा र लकडाउन अवधिका लागि बैंक ग्यारेन्टीको व्यवस्था मिलाइएको पनि उल्लेख छ ।
सिनेमा हलको मूल्य अभिवृद्धि करको विवरण, कर दाखिला गर्ने अवधि चौमासिक बनाइएको र विद्युत् डिमान्ड शुल्क ५० प्रतिशत कम गरिएको छ ।
कोरोना महामारीबीच पनि बजेटले चलचित्र क्षेत्रलाई हौसला प्रदान गरेको भन्दै चलचित्र विकास बोर्डका सदस्य एवं सञ्चार मन्त्रालयका उपसचिव महेन्द्र साँखीले अब सरकारको योजनाअनुसार छायाँकनस्थल र मौलिक चलचित्र निर्माणलाई प्राथमिकता दिइने बताए ।
लकडाउनले नेपाली चलचित्र क्षेत्र उकास्न विद्युत् डिमान्ड शुल्क छुट हुनुपर्ने, ऋणको ब्याज मिनाहा वा बुझाउनुपर्ने समय पुस मसान्त पुर्याउनुपर्ने, पुरानै धितोमा २० प्रतिशत थप ऋण पाउनुपर्ने, लकडाउनदेखियताको बैंक तथा वित्तीय संस्थासँग लिइएको ऋणको ब्याजमा ७५ प्रतिशत छुट गरिदिनेलगायतका १७ बुँदे माग नेपाल चलचित्र संघ र नेपाल चलचित्र निर्माता संघले सरकारसमक्ष राखेका थिए ।
नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी बजेटले आफूहरुको केही मागमात्रै सम्बोधन गरेको भन्दै तत्कालीन समस्या समाधानका लागि बजेटले खासै व्यवस्था नगरेको बताउँछन् ।
चलचित्र क्षेत्रले माग गरेअनुसार नभएपनि बजेटमा चलचित्र क्षेत्रलाई महत्वका साथ स्थान दिइएकोमा चलचित्रकर्मीहरुले अहिलेको लागि त्यसैमा चित्त बुझाउने भएका छन् ।




प्रतिक्रिया दिनुहोस्