काठमाडौं, भदौ २ । भुटानमा जारी साफ यु–१५ महिला फुटबल च्याम्पियनसिपमा नेपालले चौथो स्थान हासिल गरेको छ ।
तेस्रो स्थानका लागि शनिबार भएको खेलमा नेपाल भुटानसँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित हुँदै चौथो भएको हो ।
थिम्पुस्थित चाङलिमिथाङ मैदानमा निर्धारित् समयमा खेल २–२ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा गएको खेलमा भुटानले नेपाललाई स्तब्ध बनायो ।
खेलको सुरुआती तेस्रो मिनटमै डेकी याङडनले गोल गर्दै भुटानलाई अग्रता दिलाइन् । पहिलो हाफसम्म १–० पछि परेको नेपालका लागि चन्द्र भण्डारीले ४८औं र ५५औं मिनेटमा गोल गरिन् ।
२–१ ले अगाडि बढेको अवस्थामा नेपालले ६६औं मिनेटमा पुनःगोल खायो । यासी विधाले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याइन् ।
त्यसपछि खेलमा गोल भएन र खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
शनिबारै उपाधिका लागि डिफेन्डिङ च्याम्पियन बंगलादेश र भारतबीच खेल हुनेछ ।
बिहीबार भएको सेमिफाइनलमा भारतसँग २–१ गोल अन्तरले पराजित भएपछि नेपालको उपाधि यात्रा समाप्त भएको थियो । यस्तै, भुटान बंगलादेशसँग ५–० ले पराजित भएको थियो ।
नेपालले यही साउन २६ गते भएको समूह चरणको पहिलो खेलमा पाकिस्तानमाथि ४–० को फराकिलो जित हासिल गरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग २८ गते ३–० ले पराजित भएको थियो । रासस








प्रतिक्रिया दिनुहोस्