Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


१८ औं एसियाली खेलकुद प्रतियोगिता आजदेखि, नेपालको प्रतिनिधित्व मन्त्रीले गर्ने


0
Shares

काठमाडौं । १८ औं एसियाली खेलकुद प्रतियोगिता आजदेखि सुरु हुँदै छ ।

‘इनर्जी अफ एसिया’ अर्थात् ‘एसियाको शक्ति’ भन्ने सन्देशका साथ आसियन राष्ट्र इन्डोनेसियाको राजधानी जकार्तामा आज प्रतियोगिता सुरु हुन लागेको हो ।

नेपालसहित एसियाका ४५ देशका ११ हजार ५ सय खेलाडी प्रतियोगितामा भाग लिँदै छन् ।

सेन्ट्रल जकार्ताको गेलोरा बुङ कार्नो रंगशालामा एसियाडको उद्घाटन समारोह हुनेछ ।

इन्डोनेसियाका राष्ट्रपति जोकोइ विडोडोले प्रतियोगिताको उद्घटन गर्नुहुने छ । उद्घाटन समारोह नेपाली समयअनुसार साँझ सवा ६ बजे सुरु हुनेछ ।

उद्घाटन समारोहलाई रंगशालामा उपस्थित ७६ हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्नेछन् । समारोहमा इन्डोनेसियाका चर्चित कलाकारले आफ्नो प्रस्तुति दिनेछन् ।

उद्घाटन समारोहमा नेपालबाट खेलाडी, प्रशिक्षक, अफिसियल र अतिथी गरी ८० जना सहभागी हुनेछन् ।

नेपाली टोलीको नेतृत्व खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले गर्नेछन् ।

यस्तै गरी एसियाडमा नेपालका सेभ दि मिसन तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टलगायत पदाधिकारी हुनेछन् ।

नेपालको खेलाडीको नेतृत्व भारोत्तोलनका कमलबहादुर अधिकारीले गर्नुहुने छ । मार्चपासमा जकार्तामा रहेका खेलाडी सहभागी हुनेछन् ।

एसियाडको इतिहासमा पहिलो पटक दुई शहरमा एसियाड आयोजना हुनेछ ।

दोस्रो पटक एसियाड गर्न लागेको इन्डोनेसियाले जकार्ता र पालेम्वाङमा खेलहरु सञ्चालन गर्ने व्यवस्था मिलाएको छ । इन्डोनेसियाले सन् १९६२ मा पनि एसियाड आयोजना गरेको थियो ।

प्रतियोगितामा इन्डोनेसियाका सर्वाधिक ९ सय ५१ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

चीनका ८ सय ७९ खेलाडी छन् । थाइल्यान्डका ८ सय १६, दक्षिण कोरियाका ८ सय ७, चाइनिज ताइपेइका ५ सय ५८ र भारतका ५ सय ७२ खेलाडी सहभागी हुनेछन् ।

एसियाडमा नेपालका तर्फबाट विभिन्न २९ खेलका खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियल गरी जम्मा २ सय ८५ जना सहभागी हुँदैछन् ।

जसमा १८५ खेलाडी, प्रशिक्षक ४८, व्यवस्थापक २४, अफिसियल २७ र दोभाषे १ जना रहेका छन् ।

नेपालले सहभागिता जनाउने २९ खेलमध्ये २३ खेल जकार्ता र बाँकी ६ खेल पालेम्वाङमा हुनेछन् ।