२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


फिल्म शमशेरा फ्लप भएपछि सञ्जय दत्तको भावुक पोस्ट


14.105k
Shares

एजेन्सी । फिल्म ‘शमशेरा’ फ्लप भएपछि भारतीय अभिनेता सञ्जय दत्तले आफ्नो इन्स्टाग्राममा एक भावुक पोस्ट सेयर गरेका छन् ।

अभिनेता रणवीर कपूर र अभिनेत्री वाणी कपूर अभिनित बलिउड फिल्म ‘शमशेरा’ २२ जुलाईमा रिलिज भएको थियो । यशराज फिल्म्सको ब्यानरमा बनेको सो फिल्म बक्स अफिसमा नराम्रोसँग फ्लप भयो । फिल्मले पहिलो दिन १० करोड ५० लाख भारतीय रुपैयाँ कमाएको थियो भने हालसम्म फिल्मले ३१ करोड ७५ लाख भारतीय रुपैयाँ मात्रै कमाउन सकेको छ ।

१ सय ५० करोडको बजेटमा बनेको ‘शमशेरा’ मा अभिनेता सञ्जय दत्त पनि मूख्य भूमिकामा देखिएका थिए । फिल्म फ्लप भएपछि अभिनेता दत्तले आफ्नो इन्स्टाग्राममा भावुक पोस्ट सेयर गरेका हुन् ।

इन्स्टाग्राममा पोष्ट सेयर गर्दै सञ्जयले लेखेका छन्, ‘शमशेरा मायाको यस्तो परिश्रम हो कि हामीले सकेसम्म दिएका छौं। यो रगत, पसिना र आँसुले बनेको फिल्म हो।’ उनी भन्छन् , ‘ एउटा सपना जसलाई हामीले पर्दामा ल्याएका छौं। फिल्महरू दर्शकको मनोरञ्जनका लागि बनाइन्छ, ढिलो होस् वा चाँडो हरेक फिल्मले दर्शक पाउँछन् । तर, शमशेराले मानिसबाट घृणा पाइरहेको छ, कतिपयले फिल्म हेर्दै नहेरी फिल्मको आलोचना गरेको भेटेको छु ।’

साथै, अभिनेता दत्तले फिल्म निर्देशक करण मल्होत्रा आफ्नो परिवार जस्तै रहेको उल्लेख गरेका छन् । उनले करणको प्रशंसामा ४ दशकको करियरमा आफूले काम गरेको सबै निर्देशकहरूमध्ये उत्कृष्ट निर्देशक करण हुन भनेका छन् । ‘सफलता असफलता भन्दापनि करणसँग काम गर्नु मेरो लागि गर्वको कुरा हो। म सधैं उनको साथमा उभिनेछु।’ उनले भनेका छन् ।

अभिनेता दत्तले फिल्म ‘शमशेरा’ का कलाकार र क्रुलाई पोस्टको अन्त्यमा धन्यवाद दिएका छन् ।