Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


१० खेलाडीलाई ओलम्पिकको छात्रवृत्ति


52
Shares

काठमाडौं । सन् २०२४ मा फ्रान्सको पेरिसमा आयोजना हुने गृष्मकालीन ओलम्पिकका लागि १० खेलाडीले ओलम्पिक छात्रवृत्ति प्राप्त गरेका छन् ।

नेपाल ओलम्पिक कमिटीले सम्बन्धित खेल संघको सिफारिसमा बुधबार छात्रवृत्तिका लागि १० खेलका १० खेलाडी छनोट गरेको हो । छनोट भएका खेलाडीलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले स्विकृत गरेको छ ।

छात्रवृत्तिको लक्ष्य ओलम्पिकमा छनोट रहने छ । छनोट हुने खेलाडीमा टेबल टेनिसका संयोग कपाली, फेन्सिङका पायष योञ्जन, पौडीका नासिर याहा हुसेन, ब्याडमिन्टनका प्रिन्स दाहाल, जुडोकी मनिता श्रेष्ठ प्रधान, सुटिङकी सुष्मिता नेपाल, तेक्वान्दोकी युनिसिया राई, डान्स स्पोर्टसका दीपक लामा, गल्फका सुभाष तामाङ र भारोत्तोलनका सागर भण्डारी रहेका छन् ।

छात्रवृत्ति अन्तर्गत प्रत्येक खेलाडीले मासिक ७ सय ५० डलर प्राप्त गर्नेछन् र यो ओलम्पिकको अन्तिम छनोटसम्म कायम रहने छ । छनोटमा सफल रहे ओलम्पिक प्रतियोगितासम्म नै छात्रवृत्ति कायम हुने छ ।

ओलम्पिक कमिटीले प्रदान गर्ने रकम प्रशिक्षण, अन्र्ताष्ट्रिय सहभागिता, खेल सामग्री, विमा, स्वास्थ्य परिक्षणदेखि अन्य तयारीका लागि चाहिने सबै प्रक्रियामा खर्च गरिने छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले सन् २००४ को एथेन्स ओलम्पिकदेखि यस प्रकारको छात्रवृत्ति प्रदान गर्न सुरु गरेको हो ।