Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


अनुशासित भएर प्रतिस्पर्धा गर्न राष्ट्रपतिको आह्वान


0
Shares

काठमाडौं, साउन ३० । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी भदौ २ गतेदेखि १७ गतेसम्म इन्डोनेसियामा हुने एसियाली खेलकुद प्रतियोगितामा भाग लिने नेपाली खेलाडीलाई राष्ट्रको प्रतिष्ठा उच्च राख्दै पूर्णअनुशासित भएर स्पर्धा गर्न आह्वान गरेकी छन् ।

उक्त प्रतियोगितामा भाग लिने नेपाली खेलाडीलाई राष्ट्रपति कार्यालयमा बुधबार आयोजित एक विशेष कार्यक्रममा शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले खेलकुदको मर्म र भावनाअनुरुप प्रतिस्पर्धामा खरो उत्रन आग्रह गरिन् ।

उनले देशभित्रै खेलकुदका पूर्वाधार निर्माण गर्नसकेमा अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता नेपालमा आयोजना गर्नसकिने बताउँदै त्यसतर्फ सम्बन्धित निकायको ध्यान आकर्षित हुने विश्वास व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले खेलाडीलाई जीवन निर्वाहका साथै उनीहरुको स्वास्थ्यकाबारेमा पनि आवश्यक व्यवस्था गर्न सरकारले सोच्नुपर्ने विचार व्यक्त गरिन् ।

उनले राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव एवं ‘सेफ द मिसन’ केशवकुमार विष्टलाई नेपालको राष्ट्रिय झन्डा हस्तान्तरण गरिन् ।

सेफ द मिसन विष्टले १८औं एसियाली खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्ने खेलाडीको परिचय प्रस्तुत् गर्दै नेपालको गौरव र गरिमा खेलकुदका माध्यमबाट उच्च राख्न खेलाडीले हरसम्भव प्रयास गर्ने बताए ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले आधा शताब्दी लामो नेपालको खेलकुद इतिहासको चर्चा गर्दै सीमित स्रोत–साधन तथा खेलाडीको मिहिनेतबाट प्राप्त उपलब्धिको सराहना गरे ।

उक्त प्रतियोगितामा नेपालसहित ४५ देशले भाग लिँदैछन् भने नेपालले २९ खेलमा प्रतिस्पर्धा गर्नेछ ।

एसियाडमा सरकारी टोली, प्रशिक्षक तथा खेलाडी गरी ३०० जनाको सहभागिता हुनेछ । रासस