
एजेन्सी । फ्रान्सको शीर्ष डिभिजनका दुई वटा फुटबल प्रतियोगिता ‘लिग वान’ र ‘लिग टु’ रद्द भएका छन् ।
कोरोना भाईरसको महामारीका कारण सरकारले आगामी सेप्टेम्बरसम्म सबै खेलकुद गतिविधि बन्द गर्ने निर्णय गरेपछि चालु सिजनका बाँकी खेलहरु रद्द भएका हुन् ।
फ्रान्सका प्रधानमन्त्री एडुवार्ड फिलिपेले हिजो लकडाउन यही मे ११ तारिखपछि खुकुलो पार्ने बताउँदै खेलकुद गतिविधि भने सेप्टेम्बरसम्म बन्द गरिएको घोषणा गरेका थिए ।
यसले त्यहाँको शिर्ष डिभिजनका दुई वटा लिग फुटबल रद्द हुने भएपछि यो सिजन क्लबहरु बढुवा र घटुवा गर्न पनि समस्या पर्ने देखिएको छ ।
त्यहाँको फुटबल संघले यसबारे औपचारिक निर्णय गरेको छैन । लिग रद्द भएसँगै शिर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) उपाधिबाट वन्चित हुने भएको छ ।
जारी सिजनमा पीएसजी ६८ अंकसहित शीर्ष स्थानमा रहेको थियो । दोस्रो स्थानको मार्सेको ५६ अंक छ ।
यसैबिच युरोपेली फुटबल महासंघ युएफाले आफ्ना सबै सदस्य राष्ट्रहरुलाई चालु सिजनको लिग सम्पन्न हुने वा नहुने विषयमा निर्णय गर्न आगामि मे २५ तारिखसम्मको समय दिएको छ ।
प्रतिक्रिया दिनुहोस्