Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट देशका विभिन्न भागमा क्षति


676
Shares

काठमाडौं । शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानहरुमा क्षति पुगेको छ ।

कास्कीको लुम्ले र जुमलेटीमा ६ घण्टाको अवधिमा मुसलधारे वर्षा भएको छ । सो अवधिमा लुम्लेमा मात्रै १७१ दशमलव ५ मिलिमिटर वर्षा रेकर्ड भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पोखरा महानगरपालिका–२५ हेम्जाका तीन सय भन्दा बढी घर डुबानमा परेका छन् । डुबान र पहिराका कारण करिब पाँच सय मानिस विस्थापित भएका छन् ।

त्यस्तै, दोलखाको बिगु गाउँपालिका–४ मा निर्माणाधीन पुलमा बाढीले क्षति पुर्‍याएको छ । बाढीले गर्दा पुलमुनिको ग्याबिन भाँसिएको छ । ग्याबिनमा राखिएका टेका पनि ढलेपछि ढलान गर्ने तयारी गरिएको पुलको फर्मा भाँचिएका छन् । बाढीले पुलका केही सामान र संरचना पनि बगाएको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी सूचना केन्द्रले त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी, कालीगण्डकी, पश्चिम राप्तीका शाखा नदीहरु लगायत प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी प्रदेश भई बग्ने नदीहरुमा बहाव बढ्ने भन्दै सचेत रहन भनेको छ ।