१ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025


बेलायतमा खेलकुद गतिविधि सुचारु गर्ने विषयमा गम्भिर छलफल


0
Shares

एजेन्सी । बेलायतमा अवरुद्ध सबै खेलकुद प्रतियोगिता सुचारु गर्ने विषयमा यो साता महत्वपूर्ण निर्णय हुने भएको छ ।

बेलायत सरकारले खेलकुद गतिविधिहरु सुचारु गर्ने विषयमा आवश्यक सतर्कता अपनाउँदै सरोकारवाला पक्षहरुसँग चरणबद्ध छलफल गर्न लागेको हो ।

पहिलो चरणमा सम्पूर्ण खेलकुद प्रतियोगिताका प्रमुख मेडिकल स्टाफहरुसँग छलफल गरिँदैछ ।

स्वास्थ्य विज्ञहरुसँगको छलफल पछि आउने निष्कर्षको आधारमा उच्च सतर्कता र मापदण्ड तय गरी विस्तारै खेलकुद प्रतियोगिताहरु सुरु हुन सक्नेछन् ।

तर यसका लागि सम्बन्धीत खेल संघ र क्लबहरुले आवश्यक सम्पूर्ण सतर्कता र मापदण्डको अनिवार्य पालना गर्नुपर्नेछ ।

कोरोना भाइरसको महामारीका कारण पछिल्लो डेढ महिनादेखि रोकिएको इंग्लीश प्रिमियर लिग फुटबल र अन्य खेलकुद गतिविधिलाई कसरी चाँडो सुचारु गर्न सकिन्छ भन्नेमा बैठक केन्द्रित हुनेछ ।

प्रिमियर लिगले मे को पहिलो साताबाट क्लवहरुलाई प्रशिक्षणमा फर्कन तयार रहनका लागि यसअघि नै पत्राचार गरिसकेको छ ।

सरकारले नै खेलकुद गतिविधि सुचारु गर्न चासो दिएपछि प्रिमियर लिग चाँडै सुरु हुने अपेक्षा गरिएको छ । तर त्यसका लागि सरकारले पाँच चरणको परीक्षणमा आफ्नो ध्यान दिनेछ ।

खेलहरु बन्द रंगशालामा हुनेछन् । इंग्लीश फुटबल लिगले खेलहरु सुचारु भएपछि ५६ दिनमा सबै प्रतियोगिता सम्पन्न गर्न सकिने बताएको छ ।

बेलायतमा कोरोना महामारीका कारण विश्वकै चर्चित र लोकप्रिय प्रिमियर लिग फुटबलसँगै क्रिकेट, ब्रिटिश ग्राँ प्रि फर्मुला वान, लण्डन म्याराथन, रग्बी प्रिमियर लिग र ओपन च्याम्पियनशिप गल्फ लगायतका दर्जनौं विश्वस्तरका प्रतियोगिताहरु अवरुद्ध भइरहेका छन् ।