
काठमाडौं, वैशाख १३ । खसीको मासुलाई प्रतिकिलो रु एक हजार ५०० मा बिक्री गर्ने ललितपुरको एक मासु पसललाई कारबाही गरिएको छ ।
चापागाउँमा सञ्चालित शिव कोल्ड स्टोर्सले बढी मूल्यमा मासुको बिक्री–वितरण गरेको पाइएकाले रु दुई लाख जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।
विभागका सूचना अधिकारी रवीन्द्र आचार्यकाअनुसार उक्त मासु पसलले बढी मूल्यमा मासु बेचेको र मूल्यसूचीसमेत नराखेको पाइएकाले जरिवाना गरिएको हो ।
नियमित बजार अनुगमनका क्रममा शनिबार चापागाउँ दोबाटोमा सञ्चालित प्रतिमा फार्मेसीलाई सर्जिकल मास्क बढी मूल्यमा बिक्री गरेपछि रु दुई लाख जरिवाना गरिएको हो ।
उपभोक्ताबाट प्राप्त गुनासोका आधारमा औषधालयमा अनुगमन गरिएको थियो ।
विभागकै कर्मचारीलाई समेत सानो सर्जिकल मास्कको रु २० लिइ खरिद बिलसमेत देखाउन नसकेपछि कारबाही गरिएको उनले जानकारी दिए ।
त्रिपुरेश्वरमा दर्ताविनै सञ्चालन भएको भण्डारी सर्जिकल हाउस र डिल्लीबजारस्थित राजु फ्रेस हाउसलाई पनि कारबाहीस्वरुप रु ५०/५० हजार जरिवाना गरिएको छ ।
उक्त हाउसमा मूल्यसूची नभएको भन्दै जरिवाना गरिएको विभागले बताइएको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम तिनलाई जरिवाना गरिएको विभागले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्