
काठमाडौं । इन्ट्रा फउण्डेशन नेपाल च्याप्टरका अध्यक्ष लगायतको निर्णायक टोलीले इन्ट्रा नेशनल वेल फेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाको आयोजनामा भइरहेको मेरो भ्वाइस कप यूएसए र मेरो डान्स कप यूएसएका टप १२ मा पुग्न सफल प्रतिष्पर्धीलाई स्वागत गरेको छ ।
इन्ट्रा फउण्डेशन नेपाल च्याप्टरका अध्यक्ष दिलिप रायमाझी, नायिका केकी अधिकारी, शंकर बिसी लगायतले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् ।
स्वागत कार्यक्रमपछि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले नेपालमा हुने सिजनको लागि जोडिएका निर्णायक टोली र प्रतिष्पर्धीहरुलाई सम्मान र स्वागत गरेको हो ।
कार्यक्रममा बोल्दै इन्ट्रा फउण्डेशन नेपाल च्याप्टरका अध्यक्ष दिलिप रायमाझीले यो कामले नेपाली कला र संस्कृतिको खाडललाई सुनौलो अक्षरले इतिहास लेख्न प्रेरित गर्ने बताउनुभयो । उहाँले हिजोका दिनमा यस्ता कार्यक्रम नेपालमा नभएको भन्दै अब नेपाली कला, संस्कृतिको नयाँ रुपरेखा कोर्ने बताउनुभयो ।
त्यस्तै, गायक शिव परियारले प्रतिष्पर्धीहरुका कमजोरी भन्दा पनि प्रतिभालाई उजागर गर्न कार्यक्रमले सहयोग गर्ने बताउनुभयो । त्यस्तै, वरिष्ठ अभिनेत्री मिथिला शर्माले कार्यक्रमले नेपाली कला र संस्कृतिको जगेर्ना गर्न सहयोग पुग्ने बताउनुभयो ।
मेरो डान्स कप युएसएको चौथो संस्करण र ‘मेरो भ्वाइस कप युएसए’को दोस्रो संस्करण नेपालमा हुँदै छ । इन्ट्रा–नेशनल वेयलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाको आयोजनामा हुँदै आएका यी प्रतियोगिता नेपालमा आयोजना गर्न लागिएको हो ।
तेस्रो मुलुकमा रहेका नेपाली भाषीको नेपाली गीत, संगीतप्रतिको माया र सम्मानलाई अझ सशक्त रुपमा प्रस्फुटन गर्ने तथा नेपाली भाषीहरुमा भएको प्रतिभालाई उजागर गर्दै आम श्रोता/दर्शकमाझ ल्याउन कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्