Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


रुसलाई सहयोग गरे गम्भीर परिणाम भोग्नुपर्ने अमेरिकाको चेतावनी


3.9k
Shares

काठमाडौं । युक्रेन युद्धमा फसेको रुसलाई चीनले सहयोग गर्नसक्ने सूचना पाएको भन्दै अमेरिकाले त्यस्तो गल्ति नगर्न चीनलाई चेतावनी दिएको छ ।

अमेरिकी गुप्तचर अधिकारीहरुले रुसको आग्रह अनुसार चीनले रुसी सेनाका लागि नविग्रने सामग्री तथा तयारी खानेकुरा उपलब्ध गराउनसक्ने सूचना दिएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सी चिनफिङलाई त्यस्तो गल्ती गरे चीनका लागि महंगो पर्ने चेतावनीयुक्त सन्देश दिनुभएको जनाइएको छ ।

अमेरिकी डिप्लोम्याटिक केवलमा प्राप्त सूचना भन्दै सीएनएनले चीनले रुसलाई सैन्य तथा आर्थिक सहयोग पनि उपलब्ध गराउन सक्ने खबर दिएको छ । त्यस्तै न्युयोर्क टाइम्स र द फाइनान्सियल टाइम्सले रुसले चीनसँग सैन्य तथा वित्तिय सहयोग माग गरेको दावी गरेका छन् ।

चीनले भने रुसले आफूसँग कुनै सहयोग नमागेको भन्दै अफवाह मात्रै फैलाइएको बताएको छ । अमेरिकाले भने नाटो गठबन्धनमा रहेका देशहरुलाई चीनले रुसलाई सैन्य सहयोग दिने तयारी गरेको भन्दै सचेत गराएको छ ।

इटलीको रोममा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सलिभन र चीनका शीर्ष कूटनीतिज्ञ तथा पूर्व विदेशमन्त्री याङ चिएचीबीच भएको ५ घण्टा लामो बैठकमा पनि यो विषयमाथि छलफल भएको जनाइएको छ ।

उता, युद्धकैबीच रुस र युक्रेन युद्धकाबीच साेमबार सुरु भएको चौथो चरणको वार्ता मंगलबार पनि जारी रहने भएको छ । साेमबारको वार्ता सकारात्मक भए पनि निष्कर्षमा पुग्न नसकेका कारण आज (मंगलबार) पुनः वार्ता हुन लागेको हो ।

वार्ता चलिरहे पनि रुसले युक्रेनका विभिन्न शहरमा आक्रमण भने जारी राखेको छ ।