काठमाडौं । खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनल खेल हुँदैछ । धनगढी रंगशालामा दिउँसो ३ बजे हुने दोस्रो सेमिफाइनल खेलमा बागमती युथ क्लब र फ्रेन्ड्स क्लब भिड्ने छन् । आज दुबै टोली जित निकाल्दै फाइनल पुग्न चाहन्छ ।
यस खेलको विजेताले उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ । पहिलो सेमिफाइनलमा हिमालयन शेर्पालाई पेनाल्टीमा ४–२ ले हराउँदै मनाङ फाइनल प्रवेश गरिसकेको छ ।
सर्लाहीको बागमतीले ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा हराएर अन्तिम चारमा स्थान बनाएको हो । फ्रेन्ड्सलाई हराएर बागमती आफ्नो सनसनीपूर्ण यात्रा कायम राख्न चाहन्छ । फ्रेन्ड्सले क्यामरुनको एभेनिर फुटबल क्लबलाई हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो ।
सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।








प्रतिक्रिया दिनुहोस्