Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


महामन्त्रीमा पराजित नायिका रेखा थापा राप्रपाको केन्द्रीय सदस्यमा मनोनित


286
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नायिका रेखा थापा सहित १४ जनालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित गर्नुभएको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पार्टीको विधानबमोजिम अध्यक्ष लिङदेनले बुधवार १४ जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गर्नुभएको इमेजखबरलाई जानकारी दिनु भयो । केन्द्रीय सदस्यमा मनोनित हुनेहरुमा रेखा थापा काठमाडौं, लक्ष्मी तण्डुकार काठमाडौं, समृद्धि राणा उदयपुर, मीना न्यौपाने चितवन, शान्ति माया गुरुङ धादिङ, लिलादेवी श्रेष्ठ इलाम, विन्दु पौडेल नवलपुर, प्रेक्षा मल्ल धनुषा, मीना झा सर्लाही, सन्तोषी शाही सुर्खेत, स्वाती थापा रुपन्देही, पुष्पा रजौरिया कपिलवस्तु, साबित्रा थापा काठमाडौं र जयाकुमारी महतो सप्तरी रहेका छन्

राप्रपाको पार्टी विधानमा १९९ जनाको केन्द्रीय कार्यसमिति रहने प्रावधान छ । जसमध्ये महाधिवेशनबाट ९ जना पदाधिकारी र १४१ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ । बाँकी केन्द्रीय सदस्य भने अध्यक्षले मनोनित गर्न पाउने प्रावधान छ । गत मंसिरमा भएको राप्रपाको महाधिवेशनले लिङदेनलाई अध्यक्ष निर्वाचित गरेको थियो । यस अघि लिङदेनले ३२ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरिसक्नुभएको छ ।

केन्द्रीय सदस्यमा मनोनित नायिका थापा राप्रपाको महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेर पराजित हुनुभएको थियो । थापालाई राप्रपा नेतृ कुन्ती शाहीले पराजित गर्नुभएको हो ।