काठमाडौं, फागुन ३ । नेपाल पुलिस क्लबले लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलातर्फ सफल सुरुवात गरेको छ ।
मंगलबार भएको खेलमा पुरुष तर्फ भने टाइम्सले जेभियर इन्टरनेसनललाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा पुरुष तर्फको खेलमा टाइम्सले जेभियर इन्टरनेसनललाई ११७–६४ ले हरायो । पहिलो क्वार्टरमा ३५-१६ को अग्रता लिएको टाइम्स दोस्रो क्वार्टरमा १३–२० ले पछि परेको थियो । टाइम्स बाँकी प्रत्येक क्वार्टरमा भने दोब्बर भन्दा बढी अंकले अगाडि रहँदै फराकिलो अन्तरको जित हात पार्न सफल भयो ।
टाइम्सका विजय बुर्जाले २४ तथा जेभियरका राहुल नायकले १४ स्कोर गरे । यस्तै प्रतिस्पर्धात्मक अन्तिम खेलमा गोल्डेनगेटले एनसिसीएसमाथि ७७-७४ को रोमाञ्चक जित रच्यो । महिला तर्फ पुलिसले कीर्तिपुर नगरपालिकालाई ७८-२३ ले सहजै पराजित गरेको हो ।
पुलिसकी समिक्षा न्यौपानेले ११ अंक जोडिन् । कीर्तिपुरकी झरना वज्राचार्यले १३ स्कोर गरिन् । पुलिसले ३२ अंक जोड्दा कीर्तिपुर बल्ल खाता खोल्न सफल भएको थियो । चारै क्वार्टरको नतिजा आफ्नो पक्षमा पारेको पुलिसले क्रमशः २१-०, २४-६, १८-१० र १५-७ अंक जोड्यो ।








प्रतिक्रिया दिनुहोस्