
विनोद सिंह विष्ट
काठमाडौं । बैतडीको दशरथचन्द नगरपालिकामा पाँचौं संस्करणको मेयर कप पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ ।
दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजना मेयर कप क्रिकेट प्रतियोगिता फागुन २२ गतेदेखि सञ्चालन हुन लागेको हो ।
प्रतियोगितामा नगरपालिका भित्रका ११ वटै वडाको सहभागिता रहने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिनुभयो ।
आईसिसिको नियमअनुसार सञ्चालन हुने प्रतियोगितामा सहभागी हुन चाहने टोलीले फागुन १८ सम्म दर्ता गराइसक्नु पर्नेछ ।
प्रतियोगिताको विजेता टोलीले ७५ हजार र उपविजेता टोलीले ५० हजार पाउने जनाइएको छ ।
नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार हरेक वर्ष मेयर कप क्रिकेट प्रतियोगिता सञ्चालन हुदै आएको दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिनुभयो ।
उपमेयर कप महिला क्रिकेट प्रतियोगिता भने चैत २ गतेदेखि सञ्चालन हुने नगर क्रिकेट समितिले जनाएको छ ।
गत वर्ष सम्पन्न चौथो संस्करणको मेयर कपको उपाधि वडा नं ५ दशरथचन्दलाई ४ रनले स्तब्ध पार्दै वडा नं ४ खलंगाले हात पारेको थियो । यस्तै, चौथो संस्करणको उपमेयर कप वडा नं २ देहिमाडौंलाई ९ विकेटले हराउँदैं वडा नं ६ थालिगडाले जितेको थियो ।
प्रतिक्रिया दिनुहोस्