Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


नेपाली यु–१९ क्रिकेट टोलीलाई भारतको निम्तो, कोलकातामा खेल्ने


0
Shares

काठमाडौं, साउन २२ । यु–१९ एसिया कप क्रिकेटको तयारीमा रहेको नेपाली युवा टोलीले भारतमा एउटा अभ्यास प्रतियोगिता खेल्ने भएको छ ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआइ)ले नेपालको यु–१९ टोलीलाई कोलकातामा हुने उमेर समूहको प्रतियोगितामा बोलाएको हो ।

यो प्रतियोगितामा नेपालसँगै भारत र अफगानिस्तानका यु–१९ टोली तथा भारतकै नेसनल क्रिकेट एकेडेमी (एनसीए) गरी कुल ४ टोलीको सहभागिता रहनेछ ।

‘लिग कम नकआउट’को आधारमा हुने प्रतियोगिता आगामी सेप्टेम्बर ९ देखि २० सम्म चल्नेछ ।

भारतीय क्रिकेट बोर्डले हरेक वर्ष युवा क्रिकेटरको क्षमता विकासका लागि यस्तो प्रतियोगिता आयोजना गर्दै आएको छ ।

यसअघि, भारतले टेस्ट मान्यताप्राप्त टोलीलाई आमन्त्रण गर्ने भएपनि यसपालि पहिलोपटक नेपाल र अफगानिस्तानलाई अवसर दिएको हो ।

नेपालले यो प्रतियोगितालाई अक्टोबरमा बंगलादेशमा हुने यु–१९ एसिया कप क्रिकेटको तयारीकारुपमा लिएको नेपाली टोलीका प्रशिक्षक विनोद दासले जानकारी दिए ।

यु–१९ एसिया कप क्रिकेटमा नेपाल, भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, हङकङ र युएई सहभागी हुनेछन् ।