Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


बजार अनुगमनलाई तीव्र बनाइएको विभागको दाबी


0
Shares

काठमाडौं, माघ १५ । नेपालमा हरेक वर्ष दसैं, तिहारजस्ता चाडपर्वका बेलामात्र मौसमी बजार अनुगमनको आरोप लाग्ने गरे पनि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने बजार अनुगमनलाई थप तीव्र बनाएको दाबी गरेको छ ।

उपभोक्ताहरुको भने बजारमा अनुगमनभन्दा पनि अवलोकनमात्रै हुने गरेको र आफूहरु ठगिनु परेको गुनासो रहँदै आएको छ ।

उपभोक्ताकर्मीको भने अनुगमनकै अभावका कारण बिचौलियाहरु बजारमा हावी हुँदै आएको ठहर रहँदै आएको छ ।

तर, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने बजारमा नियमित गुणस्तरीय अनुगमन भइरहेको दाबी गरेको छ ।

बजारमा बिचौलिया हावी हुन नदिनका लागि बजार अनुगमनकर्ताहरुलाईसमेत आचारसंहितामा ल्याउने काम भइरहेको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी बताउँछन् ।

बजार अनुगमनमा परिमाणमाभन्दा पनि गुणस्तरीय अनुगमनमा जोड दिएको सुवेदीको दाबी छ ।

बिचौलियाको तह निर्धारण गर्ने तथा सोही मापदन्डअनुसार बिचौलिया घटाउने काम गरिरहेको सुवेदी बताउँछन् ।

पछिल्लो समय बजारमा छड र सिमेन्टको कृत्रिम मूल्यवृद्धि भइरहेकोप्रति विभागको ध्यानाकर्षण भएको र यसमा पनि अनुगमन भइरहेको सुवेदीको दाबी छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले विभागसँग सहकार्य गरेर अनुगमनमा जोड दिएको जानकारी दिए ।

सरकारी निकायहरु निरन्तर अनुगमन भइरहेको दाबी गर्छन् । तर, बजारमा विभिन्न सामग्रीहरुको मूल्य आकासिनेक्रम भने रोकिएको छैन ।