Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


कोरोना भाइरसका कारण पर्यटकको चहलपहल घट्यो : चिनियाँहरुले नेपाल भ्रमण रद्द गर्न थाले


0
Shares

कास्की । चीनबाट फैलिएको कोरोना भाइरसको आतंक बढेसँगै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको  पोखरामा पर्यटकको आवागमन घट्न थालेको छ ।

चिनियाँसहित विभिन्न देशका पर्यटकले धमाधम भ्रमण रद्द गर्न थालेपछि व्यवसायी निराश छन् । चिनियाँ पर्यटकले भरिभराउजस्तै देखिने पोखराको पर्यटकीय क्षेत्र लेकसाइड अहिले सुनसानजस्तै देखिन्छ ।

नेपालमा बढी पर्यटक आउने मुलुकको दोस्रो स्थानमा रहेको चीनमा कोरोना भाइरसको महामारी फैलिएसँगै पर्यटकको चहलपहल घट्न थालेको हो ।

चिनियाँ पर्यटकको विशेष चहलपहल हुने प्याराग्लाइडिङ, अल्ट्रालाइट, बञ्जी जम्प, जीप फ्लायरलगायतका क्षेत्र बढी सुनसान देखिएका छन् ।

नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा चीनमा देखिएको कोरोना भाइरससँगै अन्नपूर्ण क्षेत्रमा देखिएको हिमपहिरोले पनि पर्यटकको आगमनमा प्रभावित पारेको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान), पोखराका अध्यक्ष हरि भुजेल बताउँछन् ।

भ्रमण वर्षको एक महिना नपुग्दै पर्यटन क्षेत्रले विभिन्न बाधाहरु झेल्नुपरेको व्यवसायीको गुनासो छ । नेपालले भ्रमण वर्ष २०२० मनाइरहँदा चीनबाट धेरै पर्यटक भित्रिने आशा व्यवसायीको रहेको थियो तर भाइरसका कारण पर्यटक दर घट्दै गएको छ ।

यता, अन्नपूर्ण पदयात्राका लागि दैनिक १ हजार १ सय विदेशी पर्यटक जाने गरेकामा  हिमपहिरो गएपछि शून्यप्राय छ । यसैबीच, नेपाल घुम्न आउने पर्यटकका लागि सरकारले आवश्यक स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिन नसकेको व्यवसायीको गुनासो छ ।

यदि पोखरामा पनि संक्रमण देखिए कहाँ जाने, कसरी उपचार गर्ने भन्नेबारे राज्यले यकिन स्थान तय गर्नुपर्ने उनीहरुको माग छ । नेपाल घुम्ने राम्रो सिजन भनेको अक्टोबरदेखि नोभेम्बर राम्रो सिजन हो ।

नेपाल आउने पर्यटकमध्ये पोखरा क्षेत्रमा करिब ४० प्रतिशत आउने गरेका छन् । यसतर्फ पनि ध्यान दिन आवश्यक छ ।