नवीन शर्मा र राजेन्द्र नापित (इमेज)
काठमाडौं, माघ १४ । सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सन् २०२० लाई पर्यटन भ्रमण वर्ष घोषणा गरेको एक महिना पुगेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्रमण वर्ष घोषणा गरेको एकमहिने अवधि सन्तोषजनक रहेको दाबी गरे पनि निजी क्षेत्र भने सन्तुष्ट देखिँदैन ।
आजसम्म आइपुग्दा नेपाल अन्तर्राष्ट्रियस्तरमा घुम्नलायक देश हो भन्ने चिनाउन सरकार सफल भएको दाबी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको छ ।
प्रचारप्रसारको माध्यमबाट नेपाललाई एउटा गन्तव्यको रुपमा स्थापना गर्न विगतका तुलनामा उल्लेखनीय प्रगति भएको मन्त्रालयको भनाइ छ ।
मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङ पर्यटक लोभ्याउने गरी योजनाहरु तैयार भइरहेको भन्दै ‘अफ सिजन’मा पनि पर्यटकीय गतिविधि बढाउने गरी काम अघि बढिरहेको बताउँछन् ।
निजी क्षेत्रका व्यवसायीहरु भने सरकारले भ्रमण वर्षलक्षित गरी प्रचारप्रसारलाई मात्र जोड दिएको तर ध्यान दिनुपर्ने विषयमा चुक्दै गइरहेको गुनासो गरेका छन् ।
हवाई क्षेत्रमा कम उडान, टिकट नपाउने समस्या, पर्याप्त होटेल र व्यवस्थापनका क्षेत्रमा देखिएका कमजोरीहरुलाई सुधार गर्नुपर्नेलगायतका समस्याहरु ज्यूँका त्यूँ रहेको बताउँछन् ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदी भौतिक पूर्वाधार नै प्रमुख चुनौतीका रुपमा खडा भएको बताउँदै सरकार यस विषयमा सुस्ताइरहेको गुनासो गर्छन् ।
पर्यटन गतिविधिको वृद्धिका लागि निजी क्षेत्रका सुझावहरुलाई पनि समेट्नुपर्ने टानको सुझाव छ ।
टानका कार्यसमिति सदस्य ठाकुरप्रसाद सापकोटा पर्यटक सामान्य पूर्वाधारको विकासमा पनि सरकार चुकेको बताउँछन् ।
सरकारले भ्रमण वर्ष २०२० को सुरुआती एक महिनामा उत्साह र जाँगर थपिएको दाबी गरेको भएपनि पर्यटक व्यवसायीहरुले भने सरकारी ढिलासुस्तीले आवश्यक लक्ष हासिल गर्न चुनौती नै रहेको बताउँछन् ।
यो वर्षलाई आधार वर्षको रुपमा लिँदै सरकारले पर्यटकीय पूर्वाधारको विकासमा व्यापक सुधार गर्नुपर्ने पर्यटन व्यवसायीहरुको भनाइ छ ।





प्रतिक्रिया दिनुहोस्