काठमाडौं, माघ १३ । अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय अनुशासनमा ध्यान दिन वित्तीय क्षेत्रमा कार्यरत् कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
‘सार्वजनिक वित्तीय व्यवस्थापन राष्ट्रिय गोष्ठी’को सोमबार काठमाडौंमा उद्घाटन गर्दै वित्तीय पारदर्शिता आजको आवश्यकता भएकाले अनुशासनमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
उनले नीतिगतरुपमा अनुशासित भए वित्तीय क्षेत्रमा सुधार आउने बताए ।
विगत वर्षहरुमा वित्तीय व्यवस्थापन प्रणाली बिग्रँदै गएको र आफू अर्थमन्त्री भएपछि त्यसमा सुधार आएको जिकिर उनले गरे ।
अर्थमन्त्री डा. खतिवडाले राजनीति र कर्मचारी प्रशासनबीचको द्वन्द्व नियमित भएको भन्दै यसलाई कानुनीरुपमा बाँध्न आवश्यक रहेको उल्लेख गरे ।
लेखा हेर्ने पुरानो प्रणालीको अन्त्य गरी अब नयाँ र प्रविधिमैत्री प्रणालीमा लैजानुपर्ने उनले बताए ।
महालेखा ऐन संशोधन भएको भन्दै बजेट व्यवस्थापनलगायतका सबै प्रणालीलाई विधि र प्रविधिमैत्री बनाइनेसमेत उनले बताए ।
गोष्ठीमा जिल्ला र प्रदेश तहका आर्थिक प्रशासनविज्ञ सहभागी छन् । गोष्ठी यही माघ १५ गतेसम्म चल्ने छ ।






प्रतिक्रिया दिनुहोस्