काठमाडौं, माघ १० । आगामी दुई वर्षभित्र भन्सार विभाग प्रशासनलाई ‘पेपरलेस’ बनाइने विभागले जनाएको छ ।
विभागले भन्सार दिवसबारे जानकारी दिन शुक्रबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा महानिर्देशक सुमन दाहालले प्रविधिको उच्चतम् प्रयोग गरी भन्सार विभागलाई आगामी दुई वर्षभित्रै ‘क्यासलेस’ कारोबार गर्ने र पेपरलेस बनाइने बताएका हुन् ।
विभिन्न भन्सार कार्यालयहरुको अनुगमनसमेत केन्द्रीय कार्यालयबाटै गर्नसक्ने प्रविधिको विकास गरिसकेको भन्दै उनले भन्सारमा हुनसक्ने अनियमिततालाईसमेत प्रविधिको उपयोग गरी कम गरिरहेको दाबीसमेत गरे ।
भन्सार विभागले जोखिम व्यवस्थापन तथा राजस्व संकलनका लागि भन्सार घोषणा, जाँचपास र राजस्व संकलन स्वचालित प्रणाली ‘आशिकुडा वर्ल्ड’मार्फत् गर्दै आएको छ ।
योसँगै ‘पोस्ट क्लियरेन्स अडिट’लाई पनि प्रभावकारी बनाएको विभागले जनाएको छ ।
यस्तै, विभागले भन्सार विन्दुमा पूर्वाधार निर्माण गर्ने तथा जाँचपासमा प्रविधिको प्रयोग बढाउने तथा सीमा क्षेत्रमा हुने अवैध व्यापार नियन्त्रण गर्नेजस्ता कार्यहरुलाई पनि चुस्तरुपमा अघि बढाएको पनि जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्