७ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025


ए डिभिजन लिग फुटबलमा थ्रीस्टार र जावलाखेल विजयी


0
Shares

काठमाडौं, माघ ९ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत बिहीबार सम्पन्न खेलहरुमा दुई ललितपुरे टिमहरु थ्रीस्टार क्लब र जावलाखेल युथ क्लब विजयी भएका छन् ।

दशरथ रङ्गशालामा भएको पहिलो खेलमा थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई हरायो ।

थ्रीस्टार ३/१ ले विजयी भयो । थ्रीस्टारका लागि सुशील राई, सञ्जोग राई र हज्मतले एक/एक गोल गरे । पराजित हिमालयनका स्टेफेन समिरले एक गोल फर्काए ।

यो जितसंगै थ्रीस्टार ८ खेलबाट १४ अंकसहित तेस्रो स्थानमा पुगेको छ । एक खेल कम खेलेको साविक विजेता मनाङ मस्र्याङ्दी क्लब चौथो स्थानमा झरेको छ । तालिकामा १६/१६ अंक जोडेका त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लब क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् ।

त्यस्तै दोस्रो खेलमा जावलाखेलले सशस्त्र प्रहरीको एपीएफलाई १/० ले पराजित गरेको छ । १० खेलाडीमा सीमित भएको जावलाखेलका लागि ७१ औं मिनेटमा फोडेले गोल गरे । यसअघि ५७ औं मिनेटमा जावलाखेल १० जनामा सीमित भएको थियो ।

गोलकिपर टेकेन्द्र थापाले डी बक्स बाहिर हातले बल समातेपछि रेफ्रीले रातो कार्ड देखाएका थिए । सशस्त्रले त्यसपछि दवावमा राखे पनि गोल भने गर्न सकेन ।

जितले जावलाखेल ८ खेलबाट १२ अंकसहित पाँचौं स्थानमा पुगेको छ । जारी लिगमा फितलो खेलिरहेको सशस्त्र ५ अंकसहित १३ औं स्थानमा छ ।

लिग अन्तर्गत शुक्रबार मध्यान्ह १२ बजे मनाङ्गले पुछारको सरस्वती युथ क्लबसंग तथा दिउँसो ३ बजे च्यासल युथ क्लबले ब्रिगेड ब्वाइज क्लब बीबीसीसंग खेल्नेछ । दुवै खेल दशरथ रङ्गशालामै हुनेछन् ।