काठमाडौं, माघ ८ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्नपूर्ण चिनी मिल सञ्चालकको बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।
ठूलो परिमाणमा उखु किसानको उखुको रकम भुक्तानी गर्न बाँकी रहेको चिनी उद्योगको हकमा किसानलाई भुक्तानी दिने प्रयोजनबाहेकका अन्य आर्थिक कारोबार रोक्का राख्न पत्राचार गरेको मन्त्रालयले जनाएको हो ।
सर्लाहीको अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेशकुमार अग्रवालले उखु किसानको बक्यौता तिर्ने मन्त्रालयसामु नै बाचा गरेका थिए । तर, माघ ७ सम्म जम्मा तीन करोड ९० लाख रुपैयाँमात्र किसानलाई दिएको छ ।
अझै ४२ करोड किसानको बक्यौता रहेको पाइएपछि मन्त्रालयले खाता रोक्का राख्न पत्राचार गरिएको जनाएको हो ।
महालक्ष्मी चिनी मिलले २१ करोड ४० लाख, एभरेस्ट र वाग्मती खाँडसारीले ८/८ करोड भुक्तानी दिन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।
यी उद्योगीहरु भने सम्पर्कमा रहेको र भुक्तानीको प्रक्रियामा रहेको पनि जनाइएको छ ।
मन्त्रालयले किसानहरुलाई बक्यौता भुक्तानीका लागि निरन्तर सहयोग गर्ने र अनुदानबापतको रकम निकासाका लागि सरोकारवालाहरुसँग समन्वय गर्ने जनाएको छ ।
साथै, चिनी उद्योग निरन्तर सुचारु गर्न सहजीकरण गर्ने पनि मन्त्रालयले प्रतिबद्धता जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्