नवीन शर्मा, लक्ष्मणमान डंगोल र राजेन्द्र नापित (इमेज)
काठमाडौं, माघ ८ । काठमाडौंका विभिन्न स्थानमा सडक विस्तारको काम भइरहेको छ ।
सवारी–साधन सञ्चालनमा सहज हुनेगरी सडक विस्तार गरिएपनि सबै सडकछेउ पैदलयात्री हिँड्ने फुटपाथको उचित व्यवस्था नहुँदा भने दुर्घटनाको जोखिम पनि देखिएको छ ।
सडक मापदन्ड २०७० अनुसार सडकछेउ एक मिटरभन्दा कम चौडाइको फुटपाथ बनाउन मिल्दैन ।
मापदन्डअनुसार ‘पीक आवर’मा १५ मिनेटभित्र ५०० जना आवतजावत गर्ने डेढ मिटरको फुटपाथ निर्माण गरेको हुनपर्छ ।
पैदलयात्रीको संख्यालाई आधार बनाएर सडक फुटपाथको चौडाइ निर्धारण गर्नुपर्ने प्रावधान छ ।
तर, काठमाडौंका सडकमा कतै फुटपाथ छैन भने कतै एकजना पनि सजिलोसँग हिँड्न सक्ने अवस्था छैन ।
हिँड्दा–हिँड्दै फुटपाथ नै हराउनु, फुटपाथमै बिजुलीको पोल राख्नु, कतै बाटो नै छोपिने गरी निर्माण सामग्री थुपार्नाले पैदलयात्री सडकमै हिँड्न बाध्य छन् ।
काठमाडौं उपत्यका विकास प्राधिकरणका नायब आयुक्त दिलिप भण्डारीले सडक विस्तार भइसकेर बाँकी रहेको जग्गामा फुटपाथ बनाउँदा समस्या उत्पन्न भएको स्वीकार गर्छन् ।
विस्तार भइसकेका सडकहरुमा लस्करै राखिने ढुवानी साधन, भाडाका सवारी र निजी सवारीहरु पार्किङ गरेको देखिन्छ ।
कतै–कतै त निजी घरको पिलरको अर्को पिलरसम्म बीचको भागलाई फुटपाथ बनाइएको छ ।
सडक विस्तारको क्रममा पिलर भत्काउँदा घरको संरचना नै कमजोर हुने भएपछि दुवै पिलरको बीचभाग फुटपाथको रुपमा प्रयोग गरिएको हो ।
काठमाडौंका फुटपाथ अपांगतामैत्री नबन्दा पनि अर्को समस्या देखिन्छ ।
पैदलयात्रीको हितलाई विचार नपुर्याइ सडक विस्तार गर्दै जाँदा दुर्घटनाको जोखिम पनि उत्तिकै देखिन्छ ।





प्रतिक्रिया दिनुहोस्