Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


ग्लोबल एनआरएन सिंगिङ आइडलमा छानिए १५ प्रतियोगी


0
Shares

दोहा । ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ मा विश्वका विभिन्न देशबाट भाग लिएकामध्ये उत्कृष्ट १५ प्रतियोगी छानिएका छन् ।

‘नेपाली कला संस्कृति संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको अभियान’ स्लोगन रहेको ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेन्ड जेनेरेसनको गाला राउन्डको दोस्रो चरणबाट उत्कृष्ट १५ प्रतियोगी छानिएका हुन् ।

निर्णायकहरू गायक उदय सोताङ र विजय लामा तथा गायिका प्राश्ना शाक्य र सुनिता दुलालको ६० प्रतिशत अंक र ४० प्रतिशत दर्शकको भोटमार्फत् प्रतिस्र्धी छानिएको आयोजकले जनाएको छ ।

१५ जना उत्कृष्ट प्रतिस्पर्धीहरूमा युवराज गुरुङ (क्यानडा), बीबी मल्ल ठकुरी (कुबेत), नरेन्द्र मल्ल (कतार), सन्देश गुरुङ (अमेरिका), गोविन्द गुरुङ (कतार), आकाश न्यौपाने (जापान), कविता आरबिएम (युएई), सुरेन घताङ ‘शिव’ (कोरिया) रहेका छन् ।

त्यसैगरी, कपिल पाइजा पुन मगर (आयरल्याण्ड), सागर विश्व सेञ्चुरी (कुबेत), रामचन्द्र राई (कतार), कृष्ण खबास (युएई), प्रतिक सिडब्ल्यूए परियार (बहराइन), सतिश थापा (कतार) र रेशु स्याङ्दान (बहराइन) उत्कृष्ट १५ मा परेका छन् ।

एनआरएनए मध्यपूर्व युवा विभागका संयोजक राज रेग्मीका अनुसार निर्णायकको मत र भोटिङमार्फत् प्रतिस्पर्धीहरूलाई अघिल्लो चरणका लागि अघि बढाइएको हो । एनआरएनए मध्यपूर्व युवा संयोजक राज रेग्मीको अध्यक्षतामा शुक्रबार सम्पन्न गाला राउन्डको तेस्रो चरणमा २० जना प्रतिस्पर्धीले प्रस्तुति दिएका थिए ।

गैरआवासीय नेपाली संघको काठमाडौंस्थित मुख्यालयमा औपचारिक कार्यक्रम गरेरै डिजिटल अडिसनका लागि छानिएका प्रतिस्पर्धीको घोषणा गर्ने तय भए पनि कोरोना प्रकोपलाई दृष्टिगत गरी भर्चुअलमार्फत् गरिएको रेग्मीले बताएका छन् ।

रेग्मीका अनुसार ग्लोबल एनआरएन सिंगिङ आइडलमा निर्णायकको मत ६० प्रतिशत र भोटिङमार्फत् ४० प्रतिशत अंक प्राप्त गर्नेछन् । सोही आधारमा प्रतिस्पर्धी अघिल्लो चरणमा प्रवेश गर्नेछन् ।

ग्लोबल एनआरएन सिंगिङ आइडलका विजेताले ७ लाख रुपैयाँ प्राप्त गर्ने छन् । त्यसैगरी, दोस्रो पुरस्कार चार लाख रुपैयाँ, तेस्रो पुरस्कार दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौं पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ । ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीहरूलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिने छ ।