काठमाडौं । नेपाली सङ्गीत क्षेत्रका चम्किला तारा स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको स्मृतिमा विभिन्न कार्यक्रमको आयोजना गरिदैंछ ।
आज २९ औँ स्मृति दिवसका अवसरमा नारायण गोपाल सङ्गीत कोषले उनको सम्झनामा विभिन्न कार्यक्रम गर्दैछ ।
संगीत आकाशका धरोहर नारायण गोपालको २९ वर्ष अघि निधन भएको थियो । नेपाली सङ्गीतका क्षेत्रमा गहिरो प्रभाव छोड्न सफल उनी नेपाली जनजनको मनमा अहिले पनि जीवन्त छन् ।
बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवीका कोखबाट उनको १९९६ असोज १८ गते काठमाण्डौमा जन्म भएको थियो । उनको २०४७ मङ्सिर १९ गतेका दिन ५१ वर्षको उमेरमा निधन भयो ।
‘आँखा छोपी नरोऊ भनी’, ‘पर्खी बसेँ आउला भनी’, ‘यति धेरै माया दिइ’, ‘यो सम्झिने मन छ’, ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो’, ‘म त लालीगुराँस भएछु’, ‘ल सुन मेरो रामकहानी’, ‘यति चाखो यति मीठो’, ‘तिमीलाई म के भनु’ लगायतका दर्जनौँ कर्णप्रिय गीतहरु नारायण गोपालले गाएका छन् ।
उनका कालजयी गीतले नेपाली गीत–सङ्गीतको स्वरुप नै बद्लिदियो । उनका गीत आजपनि उतिकै लोकप्रिय छन् ।





प्रतिक्रिया दिनुहोस्