Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


अर्घाखाँची बस दुर्घटनाः मृतक सबै १९ जनाकै सनाखत (नामावली)


0
Shares

सागर महत (इमेज)

अर्घाखाँची, मंसिर १२ । अर्घाखाँचीमा यात्रीवाहक बस दुर्घटनामा परी मृत्यु भएका सबै १९ जनाकै सनाखत भएको छ ।

बुधबार सन्धिखर्क नगरपालिका वडा नम्बर–६, नरपानीमा लु२ख २१४८ नम्बरको बस दुर्घटना भएको थियो ।

दुर्घटनामा ज्यान गुमाउनेहरुमा गाडीधनी र चालकसमेत रहेका छन् ।

मृत्यु हुनेहरुमा सन्धिखर्क नगरपालिका–७, डिहिडाँडाका ५६ वर्षीय शिवलाल भट्टराई, सोही स्थानका ५४ वर्षीय बलराम भट्टराई र २२ वर्षीया माया पुरी, सन्धिखर्क नगरपालिका–७, काउलेकी ९ वर्षीया मोनिका खड्का, सन्धिखर्क नगरपालिका–२ की ५९ वर्षीया सीताकुमारी सार्की छन् ।

यस्तै, अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–७ का ५१ वर्षीय मेघनाथ जैसी भण्डारी, भूमिकास्थान–९ का ५० वर्षीया सीता घिमिरे, सोही ठाउँका ५० वर्षीया विष्णुमाया गैरे र २२ वर्षीय शैलेस थापा, भूमिकास्थान–१० का ५४ वर्षीय छविलाल गैरे छन् ।

यसैगरी, दुर्घटनामा परी मृत्यु हुनेमा कपिलवस्तुको बाणगंगा नगरपालिका–७, वनगाईका तीनमहिने बालक शोभाकर पोखरेल, बाणगंगा–८, चपरगाउँ बस्ने २७ वर्षीया सीता बस्नेत छन् ।

बसका चालक गुल्मीको मदाने गाउँपालिका–२ का ३२ वर्षीय वसन्त भनिने ओमबहादुर थापा, सवारीधनी अर्घाखाँचीको शितगंगा नगरपालिका–२ का ३८ वर्षीय सन्तबहादुर बस्नेत, गुल्मीको धुर्काेट गाउँपालिका–२ का २७ वर्षीय सशस्त्र प्रहरीजवान राजकुमार महतको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

त्यस्तै, मृतकहरुमा शितगंगा नगरपालिका–१ की १५ वर्षीया मन्जु बिक, शितगंगा–७ का ४८ वर्षीय लोकबहादुर दर्जी, सोही स्थानका ५५ वर्षीय हरिबहादुर दर्जी र अर्घाखाँचीको छत्रदेव गाउँपालिका–८ का ४२ वर्षीय कृष्णबहादुर सुनार छन् ।

दुर्घटनामा घाइते भएका १८ जनामध्ये ६ जनाको भैरहवामा, ९ जनाको बुटवलमा र एकजनाको काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते दुईजना उपचारपछि घर फर्किएका छन् ।

दुर्घटनास्थल नरपानीबाट ल्याइएका शव बिहीबार जिल्ला अस्पताल सन्धिखर्कमा ‘पोस्टमार्टम’पश्चात् आफन्तलाई बुझाइएको छ ।

बुधबार सन्धिखर्कबाट दिउँसो करिब १ः३० बजे छुटेको सो बस नरपानीमा दिउँसो ४ बजेतिर दुर्घटना भएको हो । बस बुटवलतर्फ जाँदै थियो ।

१७ जनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा मृत्यु भएको हो । बस सडकबाट करिब ५०० मिटर तल खसेको थियो ।