सागर महत (इमेज)
अर्घाखाँची, मंसिर ११ । अर्घाखाँचीमा बुधबार एक यात्रीवहाक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । कम्तीमा १४ जना घाइते छन् ।
सन्धिखर्क नगरपालिका वडा नम्बर–६, नरपानीमा लु२ख २१४८ नम्बरको बस दुर्घटना भएको हो ।
घाइतेमध्ये गम्भीर अवस्थाका १२ जनालाई उपचारका लागि बुटवल पठाइएको छ ।
सामान्य घाइते भएका दुईजनाको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको छ ।
मृतकहरुको अहिलेसम्म सनाखत हुनसकेको छैन । मृतकमध्ये १० पुरुष र सातजना महिला छन् ।
उनीहरुको घटनास्थलमै मृत्यु भएको अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेले जानकारी दिए ।
उद्धारकार्य जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्नसक्ने बताइएको छ ।
सन्धिखर्कबाट बुटवलतर्फ जाँदै गरेको सो बस बुधबार अपराह्न ४ बजेतिर दुर्घटना भएको हो ।
बस सडकबाट करिब ५०० मिटर तल खसेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।
बसमा कति यात्री थिए भन्ने यकिन भइनसकेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
साँघुरो घुम्तीमा बस मोड्नेक्रममा दुर्घटना भएको जनाइएको छ ।












प्रतिक्रिया दिनुहोस्