काठमाडौं । नेपाली ऐतिहासिक चलचित्र ‘कीर्तिपुर’ दि लिजेन्ड अफ कीर्तिलक्ष्मीलाई युट्यूवमा अपलोड गरेको हप्ता दिन नवित्दै १ लाख ७२ हजार बढी दर्शकले हेरेका छन् ।
पृथ्वीनारायण शाहले कीर्तिपुरमा युद्ध छेडेको विषयमा तयार गरिएको चलचित्र हेर्ने दर्शक दिनानुदिन बढ्दै गएको निर्माण टोलीले जनाएको छ ।
असारको दोस्रो साता देशभरका सिनेमा हलमा प्रदर्शन थालेको कीर्तिपुरलाई युट्यूबमा अपलोड गरेको एक महिनाभित्र १० लाख दर्शकले हेरिसक्ने निर्देशक प्रदीप खड्गीले दाबी गरे ।
पछिल्लो पुस्ताको आकर्षण डिजिटल प्रविधिमा केन्द्रीत भएकोले केहि समय पश्चात ३० लाख दर्शकले कीर्तिपुर हेरिसक्ने खड्गीको दावी छ । छ वर्ष अघि सुटिङ सकाएको कीर्तिपुरलाई सेन्सर बोर्डले प्रतिबन्ध लगाएको थियो ।
राष्ट्र निर्माता पृथ्वीनारायण शाहले कुटिल रणनीति अपनाएर कीर्तिपुर राज्य जितेको विषयमा चलचित्र निर्माण गरेको भएर गृहमन्त्रालयले आपत्ती जनाएको थियो । चलचित्रमा सम्वाद तथा भिडियो सेन्सर गरेपछि मात्र स्वीकृति दिइएको थियो ।
बासुपासाको ‘भैरव सिंह’ उपन्यासलाई आधार बनाइएको चलचित्रलाई पर्दामा उतार्नु अघि ८ वर्ष सम्म अध्ययन र सम्बन्धित ज्ञातासँग अन्तक्र्रिया गरेको कलानिर्देशक केके मानन्धरले बताए । चलचित्रमा पुरानै जीवनशैली, भौतिक संरचना तथा परिवेश सन्तुलित गर्नको लागि निर्माण अवधि लामो हुन गएको हो । भीएफएक्स सुपरभाइजर सन्तोष केसीले काम गरेको चलचित्रमा ९० प्रतिशत भिज्युअल इफेक्ट छ ।
चलचित्रको मूख्य भूमिकामा हिसिला महर्जन, यशराज गराच, मदनदास श्रेष्ठ, सुशील राजोपाध्याय, लक्ष्मी गिरी, सुरवीर पण्डित आदि कलाकारहरु छन् । फोकस पिक्चर्सको व्यानरमा तयार गरिएको चलचित्रमा विरेन्द्र ताम्राकार कार्यकारी निर्माता, प्रेम खड्गी तथा अनन्त श्रेष्ठ निर्माता हुन् । शंकर महर्जन र नविन जोशीले चलचित्रको छायांकन गरेका हुन् ।





प्रतिक्रिया दिनुहोस्