कञ्चनपुर । हात्तीको आक्रमणबाट ज्यान गुमाएको चार वर्ष बितिसक्दा पनि कञ्चनपुरमा पीडित परिवारले राहत पाउन सकेका छैनन् ।
महाकाली नगरपालिका–३ बडुवाल टोलका बलबहादुर थापाको हात्तीको आक्रमणबाट ज्यान गएको चार वर्ष बित्दा पनि पीडित परिवारले राहत नपाएका हुन् ।
थापाको २०७२ सालमा भारतीय जंगलमा च्याउ टिप्न गएका बेला हात्तीको आक्रमणबाट ज्यान गएको थियो ।
नेपाल भारत १३ नम्बर सीमास्तम्भदेखि दुई किलोमिटर भारतीय जंगलमा गोठालाले थापाको शव फेला पारेका थिए ।
यता सरकारले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ ल्याएपनि पीडित परिवारले भने आफूहरुलाई सरकारले कुनै किसिमको राहत नदिएको गुनासो गरेका छन् ।
त्यसअघि पनि हात्तीकोे बथानले घर भत्काउँदा भाग्ने क्रममा घाइते भएकाको उपचारका लागिसमेत सरकारले कुनै खर्च नदिएको स्थानीयको भनाई छ ।
उता शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले भने पछिल्लो घटनामा राहत वितरण भइरहको भन्दै पुरानो घटनाका बारेमा जानकारी नभएको जनाएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण न्यौपानेले यस बारेमा बुझेर सहयोग गर्ने बताए ।









प्रतिक्रिया दिनुहोस्