Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


पर्वतमा भोलिदेखि निषेधाज्ञा खुकुलो, सार्वजनिक सवारीमा आधा यात्रु बोक्न पाइने


0
Shares

पर्वत । पर्वतमा कोरोना संक्रमणका कारण जारी गरिएको निषेधाज्ञा खुकुलो बनाइएको छ । जिल्लामा कोरोना संक्रमण दर कम हुँदै गएपछि निषेधाज्ञामा खुकुलो बनाइएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय पर्वतमा बिहीबार बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट, चिया तथा खाजा पसल, पार्क, व्यूटिपार्लर, सैलुन बाहेकका सबै व्यवसायहरू चौबिसै घण्टा सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

त्यसैगरी जिल्ला भित्र चल्ने सार्वजनिक सवारीसाधनहरू सिट क्षमताको आधामात्र यात्रु राखेर सञ्चालन हुन दिने निर्णय गरिएको खत्रीले बताउनुभयो । यस अघि पेशा, व्यवसाय, पसल बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म खोल्न पाइने नियम बनाइएको थियो ।

प्रशासनद्वारा जारी आदेशमा सरकारी कार्यालयहरुमा साबुुनपानीको व्यवस्था गर्न भनिएको छ । मठ मन्दिर, मस्जिद, गुम्वा, चर्च लगायत धार्मिक स्थलमा नियमित नित्यपूजा मात्रै गर्न सकिने निर्णय गरिएको छ । सार्वजनिक निर्माण र व्यक्तिगत निर्माण साथै उद्योग कलकारखानामा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने, श्रमिकलाई कार्यस्थलमै खानेबस्ने व्यवस्था गर्नुपर्ने विषय पनि आदेशमा समेटिएको छ ।

पर्वतमा अहिले सक्रिय संक्रमितको संख्या ३ सय १४ रहेको छ । अहिलेसम्म कोरोनाबाट ५६ जनाले ज्यान गुमाएका छन् ।