Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


सडक बालबालिकाको उद्धार चुनौतीपूर्ण (भिडियो)


0
Shares

गृष्मा राजभण्डारी र सानु माली (इमेज)

काठमाडौं, मंसिर ४ । राजधानी काठमाडौंका विभिन्न क्षेत्रमा सडक बालबालिका र किशोर–किशोरीहरु लागुऔषध प्रयोग गर्ने र यौन व्यवसायमा संलग्न हुने गरेको कुनै नौलो विषय होइन ।

समाजमा विकृति ल्याउन उद्दत बालबालिका र किशोर–किशोरीलाई उद्धार गर्न राष्ट्रिय बालअधिकार परिषद् र बालबालिका खोजतलास समन्वय केन्द्रका प्रमुखसमेत लागिपरेको विषय पनि नौलो होइन ।

तर, यसलाई निरन्तरता दिनु भने पक्कै चुनौतीपूर्ण रहेको छ । त्यो पनि विगत तीन वर्षदेखि निरन्तरता दिइँदै आएको छ ।

एक किशोरले ‘आत्मरक्षा’को लागि घाँटीमा ब्लेड राखेको दृष्य हेर्दा अनौठो र दर्दनाक लाग्नसक्छ । सडक बालबालिकालाई राष्ट्रिय बालअधिकार परिषद् र बालबालिका खोजतलास केन्द्रले नियन्त्रणमा लिनेक्रममा देखिएको दृष्य हो यो ।

केही महिनाअगाडि सडकबाट उद्दार गरिएका किशोर सुध्रिएपछि पुनः सडकमा फर्किएपछि फेरिपनि नियन्त्रणमा लिइएको हो ।

पछिल्लो समय कुलत र लागुऔषध दुर्व्यसनीमा फसेका सडक बालबालिकालाई पुनःस्थापना गर्ने उद्देश्यले चालिएको यो कदमका कारण सडकमा रहेका बालबालिका र किशोर–किशोरीहरु खोजतलास केन्द्रका प्रहरी देख्नेबित्तिकै भाग्न थालेका छन् ।

गत असोज ५ गते काठमाडौंका विभिन्न स्थानमा छापा मारी ३५ भन्दा बढी सडक बालबालिका र किशोर–किशोरीलाई नियन्त्रणमा लिइएकोमा असोज ८ गते राति ९ बजेदेखि करिब २ बजेसम्म ४१ जनालाई नियन्त्रणमा लिइएको थियो ।

सडकमा कुलतमा लागेका बालबालिकाको संख्यामा केही हदमम्म कमी आएपनि पुनः देखिन थालेपछि राष्ट्रिय बालअधिकार परिषद् र बालबालिका खोजतलास समन्वय केन्द्रले बुधबार साँझ ५ बजेदेखि राति ११ बजेसम्म सहरका विभिन्न स्थानमा छापा मारी २४ जनालाई नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई कम्तीमा ६ महिनासम्म संस्थामा राखिने र विभिन्न सीपमूलक तालिमहरु दिने गरेको बताइएको छ ।

केही सडक बालबालिका भने तालिमप्राप्त भइसकेर पुनः सडकमा फर्कने गरेका कारण उद्धार टोलीलाई पनि केही हदसम्म समस्या थपिएको छ ।

यद्यपि, जोखिमपूर्ण तरिकाले भएपनि उद्धार टोलीले गरेको यो प्रयास प्रशंसनीय छ नै ।

भिडियो हेर्नुहोस्