काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बेलायतको लर्ड्स क्रिकेट मैदानमा त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी शृङ्खला खेल्दैछ ।
क्रिकेटको मक्का मानिने ऐतिहासिक लर्ड्स मैदानमा नेपालले दोस्रो पटक खेल्न लागेको हो ।
मैत्रीपूर्ण टी–ट्वेन्टी शृङ्खलाका लागि नेपाली टोली अहिले इङ्ल्याण्डमा छ ।
नेपालले आज साँझ नेपाली समयअनुसार सवा ६ बजे मेरेलीबोन क्रिकेट क्लव (एम.सी.सी.)सँग खेल्नेछ भने साढे १० बजे नेदरल्याण्ड्ससँग खेल्नैछ ।
त्यसअघि दिउँसो ३ बजे नेदरल्याण्ड्स र एम.सी.सी.बीचको खेल हुनेछ । एम.सी.सी.को कप्तानी श्रीलंकाली महान क्रिकेटर माहेला जयबर्दनेले गर्नेछन् ।
मैत्रीपूर्ण भए पनि नेपाल र नेदरल्याण्ड्सबीचको खेललाई अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले अन्तर्राष्ट्रिय टी–ट्वेन्टीको मान्यता दिएको छ ।
नेपालले सन् २०१५ पछि पहिलो पटक अन्तराष्ट्रिय टि ट्वेन्टी खेल्न लागेको हो ।
त्रिकोणात्मक सिरिजपछि नेपाली टोली नेदरल्याण्ड्स प्रस्थान गर्नेछ ।
त्यहाँ नेपालले नेदरल्याण्ड्ससँग आगामी बुधबार र शुक्रबार एक दिवसीय खेल खेल्नेछ । नेपालले एक दिवसीय शृङ्खला खेल्न लागेको यो पहिलो अवसर हो ।








प्रतिक्रिया दिनुहोस्