
-उपेन्द्र खनाल/इमेज
तनहुँ । पृथ्वी राजमार्गको मुग्लिन–कोत्रे सडक खण्डमा सवारी साधन दुर्घटनामा परी ज्यान गुमाउनेहरुको संख्या दिनहुँ बढ्दै गएको छ । दुर्घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय तनहुँले बिभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेपनि प्रभावकारी हुन सकेको छैन ।
तनहुँमा सडक दुर्घटनामा परी एक वर्षको अवधिमा ५६ जनाले ज्यान गुमाइसकेका छन् । कतिपय चालकको लापरबाहीका कारण दुर्घटना हुने गरेको छ भने केही दुर्घटना पैदलयात्रुको कारणले पनि हुँदै आएको छ ।
विशेषगरी ओभर स्पिड र ओभरटेक गर्दा दुर्घटना बढी भएको पाइएको छ । तर, सम्बन्धित निकाय भने यस विषयमा बेखबर जस्तै बनेको छ । अत्यधिक सवारी चाप हुँदा पनि साँघुरा सडकलाई चौडा बनाउने बिषयमा कसैले पहल नगर्दा दिनदिनै सवारी दुर्घटना बढ्दै गएको हो ।
पछिल्लो समय जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागी चेकजाँचमा कडाइ गरेको छ । दिनमा मात्रै नभई रातको समयमा पनि प्रहरीले चेकजाच गर्दै आएको छ ।
चेकजाँचका क्रममा सवारी चालकलाई ओभर स्पिड, ओभर टेक नगर्न तथा ब्लु बुक तथा लाइसेन्स साथैमा लिएर हिँड्न आग्रह गर्दै आएको छ । तर चालकले ट्राफिक नियमको पालना नगर्दा दुर्घटनामा कमि आउन भने सकेको छैन ।
यस वर्ष राजमार्ग केन्द्रित रहेर जनचेतनामुलक कार्यक्रम बढी गरिएकाले सडक दुर्घटना न्यूनीकरणमा कमि आउने विश्वास प्रहरी उपरीक्षक बिनोद सिलवालको छ । अर्को तर्फ सडकको दुरावस्थाको कारण पनि दुर्घटना हुने गरेको पाइएको छ ।
प्रहरीले दुर्घटना न्यूनीकरण गर्न सडक छेउमा कन्भेक्स मिरर, ट्राफिक चिन्हहरु तथा सडकमै चालकको आँखा परिक्षण तथा चालकलाई फुलमाला लगाएर सम्मान गरी सजग भएर सवारी हाक्न आग्रह गर्दै आएको छ ।
तर, यती गर्दा पनि सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या बर्सै पिच्छे बढ्दै गएको छ । प्रहरीको तथ्यांक अनुसार अधिकाँस दुर्घटना चालककै लापरबाहीका कारण हुँदै आएको छ ।
राजमार्गमा गरिएको चेकजाँचले सवारी चालक पनि सजग हुँदै गएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक रेसम बहादुर गुरुङको भनाइ छ । दुर्घटना हुन नदिनका लागि सर्बप्रथम त सवारी चालक नै सजग हुनुपर्ने देखिन्छ ।
त्यसैले ट्राफिक प्रहरीको एक्लो प्रयासले मात्रै दुर्घटना न्यूनीकरणमा कमि नआउने भएकाले चालक, यात्रु र सिङ्गो प्रहरी टिम नै सचेत हुनु जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्