
चिप्लेढुंगा, कात्तिक २२ । नेपालमा पहिलोपल्ट गोताखोर तालिम सन्चालन गरिएको छ ।
युएनडीपीको सहयोगमा सशस्त्र प्रहरी बल नम्बर–१ बराह बाहिनी पकली, इटहरीले यो तालिम प्रदान गरेको हो ।
बंगलादेशमा सन् २०११ तालिम लिएका २५ मध्ये अहिले १९ जनाबाट सशस्त्र प्रहरी जवानदेखि सशस्त्र प्रहरी सहायक निरीक्षकसम्मका थप १९ जनालाई तालिम सन्चालन गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक वीरेन्द्र खनालले बताए ।
तत्कालीन समयमा एक व्यक्तिलाई करिब रु १२ लाख लगानी गरेर युएनडीपीले बंगलादेशमा सशस्त्र प्रहरीलाई तालिमको अवसर प्रदान गरेको थियो ।
हालसम्म तिनै तालिमप्राप्त गोताखोरबाट उद्धारकार्य हुँदै आएपनि पर्याप्त नभएपछि गोताखोर तालिम सन्चालन गरिएको उनले बताए ।
उनले भने–‘यो तालिम निकै खर्चिलो र जोखिमपूर्ण छ । ९ वर्षपछि बल्ल हामीले यो तालिम सन्चालन गर्न सफल भएका छौं ।’
दुई वर्षसम्म त उपकरणका लागिमात्रै कुर्नुपरेको उनको भनाइ छ ।
‘२०१३ मा बल्ल उपकरण आइपुगेपछि हामीले ३५ दिनको ‘प्याकेज’ बनाएर तालिम सुरु गरेका हौं’–उनले भने ।
पानीको गहिराइमा गएर उद्धार गरिने सो कार्य निकै जोखिमपूर्ण मानिन्छ । हाल सप्तकोसी र फेवातालमा गोताखोर तालिम दिइएको हो ।
नेपालमा धेरै दुर्घटना भइ अधिकांश बस नदीमा खस्ने गरेकाले तालिमप्राप्त गोताखोर आवश्यकता बढिरहेको छ ।
यस्ता संवेदनशील कुराप्रति नेपाल सरकारले चासो दिनुपर्ने प्रशिक्षक दिल्ली भट्टराईले बताए ।
उनले भने–‘तालिम खर्चिलो पनि छ । यसका उपकरण निकै महँगा हुन्छन् र उत्तिकै जोखिमपूर्ण पनि हुन्छन् । दक्ष जनशत्ति टिकाइराख्न राज्यले विशेष व्यवस्था गर्नुपर्छ ।’
नयाँ प्रशिक्षार्थी सशस्त्र प्रहरीजवान दीर्घनारायण पौडेलले तालिमप्राप्त गरेपछि अब पानीमुनि उद्धारमा जानसक्ने बताए ।
‘सुरुमा त निकै गाह्रो र डर लाग्यो । तालिम लिँदै गएपछि आत्मविश्वास बढ्दै गयो । अहिले ढुक्कसँग गर्नसक्छु’–अर्का प्रशिक्षार्थी सशस्त्र प्रहरी सहायक निरीक्षक रमेश थापाले भने–‘अब ६५ फिट तलपनि अक्सिजन सेटअप बक्सका साथ उद्धारमा जानसक्छु ।’
थोरै संख्यामा तालिम लिएकालाई टिकाइराख्न सरकारले चासो नदिने र तालिम पाएकाले अर्को अवसर पाउँदा छाडिहाल्ने समस्या रहेको उनको भनाइ छ ।
सातै प्रदेशमा तालिमप्राप्त गोताखोर राख्ने योजनाअनुरुप तालिम प्रदान गरिएको बताइएको छ ।
फेवातालमा तालिम लिन आएका २८ जनाको टोली थप प्रशिक्षणका लागि पकली फर्किएको छ ।
हाल चितवनको कुरिनटार तालिम केन्द्र, काठमाडौं र पोखरामा १५ जना तालिमप्राप्त गोताखोर कार्यरत् छन् । रासस
प्रतिक्रिया दिनुहोस्